नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले आफ्नो साढे दुईवर्षे कार्यकालमा समग्र पुँजी बजारमा सुधार गर्ने दाबी गर्नुभएको छ ।करिब डेढ साताअघि बोर्डको अध्यक्षमा नियुक्त हुनुभएका हमालले सोमबार आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा नेपालको धितोपत्र बजारलाई सुधार गर्ने आफ्नो योजना सार्वजनिक गर्नुभएको हो ।

उहाँले धितोपत्र बजारको आधार विस्तार हुँदै गएको सन्दर्भमा त्यसलाई समयसापेक्ष रूपमा नियमन गर्न संस्थागत सुधार र प्राविधिक रूपमा सुदृढ गर्न आफ्नो प्रयास रहने बताउनुभयो ।अध्यक्ष हमालले सेबोनको २७ वर्षको कार्यकालमा पनि आफ्नो भवन बनाउन नसकेको भन्दै छिट्टै नै जग्गा खरिद गरेर भवन निर्माणको कार्य थालिने बताउनुभयो । सेबोनका लागि अत्याधुनिक पूर्वाधार निर्माण गर्नु अहिले पहिलो प्राथमिकता भएको उहाँको भनाइ छ ।

त्यस्तै उहाँले विस्तारित बजारको नियमनलाई थप प्रभावकारी बनाउन कर्मचारीको क्षमता र मनोबल बढाउनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । हाल सेबोनमा ५६ जना मात्र कर्मचारी रहेको भन्दै यो जनशक्तिले अहिलेको बजार अवस्थामा पर्याप्त नहुने उहाँँले बताउनुभयो । बोर्डले गर्ने नियमनको भूमिकालाई प्रभावकारी र पारदर्शी बनाउनका लागि इन्फर्मेसन सिस्टमको उचित व्यवस्थापन गर्ने, स्वचालित निगरानीका लागि अन्य देशमा राम्रा अभ्यासलाई अवलम्बन गरिने पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष हमालले बजारको स्थायित्व कायम गर्न, साना लगानीकर्तालाई संरक्षण गर्न कानुन ऐन नियम नियमावलीलाई समय सान्दर्भिक सुधार गर्नुका साथै बोर्डको कार्यशैलीमा समेत परिवर्तन ल्याउन जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अबका दिनमा म समयसीमा तय गरेर काम गर्छु र बोर्डका सबै कर्मचारीले पनि त्यसरी नै काम गर्नु हुनेछ । ”

उहाँले पुँजी बजारमा वित्तीय साक्षरता अत्यन्तै न्यून रहेको चर्चा गर्दै वित्तीय साक्षरता कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाइने योजना पनि सार्वजनिक गर्नुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि क्यापिटल मार्केट इन्स्टिच्युसनको समेत परिकल्पना गरेर गृहकार्यको थालनी भइसकेको छ । ”
बोर्डलाई संस्थागत र प्रविधिगत रूपमा सुधार गरेपछि घरजग्गा (रियल स्टेट)का ठूला कम्पनीलाई पनि यो बजारमा प्रवेश गराउन सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा एक हजार २०० भन्दा बढी ठूला करदाता कम्पनी रहे पनि उनीहरू यो बजार आउन हच्किरहेको भन्दै अन्य राष्ट्रका असल प्रयासलाई अवलम्बन गरेर बुक बिल्डिङ पद्धतिमार्फत धितोपत्र बजारमा ल्याउने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बुक बिल्डिङ पद्धतिमा जाँदा निष्पक्ष र पारदर्शिता कायम गराउन आफ्नो प्रयास रहने पनि बताउनुभयो । उहाँले साना लगानीकर्ताको हितका लागि टु प्लस सेटलमेन्टलाई प्रभावकारी बनाइने पनि बताउनुभयो ।

उहाँले बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)बीचको सम्बन्धमा पनि सुधार गर्दै जाने र कुनै पनि समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न वर्किङ कमिटीसमेत गठन भइसकेको जानकारी दिनुभयो ।उहाँले हाल रोकिएको जलविद्युत् कम्पनीको साधारण सेयर निष्कासनका काम केही दिनमा नै सुरु हुने, बैङ्क तथा वित्तीय संस्थाबीच गाभ्ने गाभिने वा प्राप्ति गर्ने बहानामा लामो समयसम्म कारोबार रोक्का हुने गरेको गुनासो बढेकाले त्यस्तो अवस्थामा ‘कट अफ पिरियड’ छिट्टै तोकिने पनि स्पष्ट पार्नुभयो ।त्यस्तै नेपालको पुँजी बजारमा गैरआवासीय नेपालीको लगानी भिœयाउने सम्बन्धमा पनि आवश्यक अध्ययन सुरु भएको बताउनुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो