हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको आठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको चित्लाङ फुटबल क्लबले जितेको छ । शनिबार बागमती–४,झुरझुरेस्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा सर्लाही जिल्लाको बागमती युवा क्लबलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै काठमाडौंको चित्लाङ एफसीले प्रतियोगिताको उपाधि जितेको हो । यस अघि ७ वटा प्रतियोगितामा सहभागी नभएको चित्लाङ एफसीले आठौं संस्करणको प्रतियोगितामा पहिलो पटकै सहभागी भएरै उपाधि उचाल्न सफल भएको हो ।
चित्लाङका लागि एरोन थापाले पहिलो हाफको २ मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा गोल गर्दै विदेशी खेलाडी सोलेमन किङले अग्रतालाई बढाए । त्यसपछि सोलेमन किङले खेलको ४८ मिनेटमा पुनःगोल गरे । दोस्रो हाफको खेलमा ७७ औं मिनेटमा समीर तामाङले अन्तिम गोल गरे । खेलको म्यान अफ द म्याच घोषित हुँदै समीर तामाङले १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै लक्ष्मण थापाले १ लाख १ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक घोषित भएका चित्लाङबम प्रिसो, उत्कृष्ट फरवार्ड एरोन थापा, उत्कृष्ट प्रशिक्षक सुमन श्रेष्ठ, उत्कृष्ट डिफेन्डर घोषित भएका सर्लाहीका आयुष मगर र उत्कृष्ट मिडफिल्डर घोषित भएका सर्लाहीकै अनिष महर्जनले जनही २५/२५ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् । यस अघि साविक विजेता र उपविजेता बनेको टोलीले भने प्रतियोगितामा कुनै स्थान हासिल गर्न सकेन्न् ।
प्रतियोगिताको उपाधि विजेता चित्लाङले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।




















प्रतिक्रिया दिनुहोस्