कर्णाली प्रदेशको नाग्म सिँजा हुदै राराताल जाने नाग्म गमगडी सडकको छेउमै पर्छ फाण्डव गुफा। जुम्ला कनकासुन्दरी गाउँपालिका ८ पाण्डुसेरा गाउँमा रहेको पाण्डव गुफा पर्यटक तान्ने महत्वपुर्ण पर्यटकीय गन्तव्य बनेको छ। त्यहाँ पाँच भाई पाण्डवको मुर्ति छन्। पाँच भाइ पाण्डवकी एक मात्र पत्नी द्रौपतीको मुर्ति पनि एक छेउमा राखिएको छ।

पाँच भाइको एक्ली पत्नी भएकोले पनि आन्तरिक पर्यटकले निकै रुचिका साथ हेर्छन। पाण्डव गुफा संरक्षण समितिका अध्यक्ष कर्णबहादुर भण्डारी पछिल्लो समयमा पाण्डव गुफा पर्यटन आकर्षणको केन्द्र विन्दु भएको बताए। उनले भने,‘पाण्डवगुफाको धार्मिक महत्व वेग्लै प्रकारको छदैँछ। त्यो भन्दा पनि पाँच भाइको एक पत्नी भएको बारेमा चासो राखिरहेका हुन्छन्।’

पाण्डवका पाँच भाइ बसेकोले यो गुफालाई पाण्ड गुफा भनिएको हो। पहिले पाण्डगुफा केटाकेटीले खेल्ने, दिसापिसाव गर्ने, छुई ,सुत्केरी बस्ने र घाँस राख्ने ओडार मात्र थियो। स्थानीय सुदर्शन काफ्लेको अगुवाइमा तत्कालिन पाण्डवगुफा गाविसबाट बजेटको व्यवस्थापन गरेर गुफाको संरक्षण गर्न थालिएको थियो। पाण्डवका पाँच भाइ र उनीहरुकी पत्नी द्रोपतिको मुर्ति २०२५ सालमा चोरी भएको थियो। मुर्तिचोरी भएपछि गुफाको शोभा नै हरायो। नाम मात्रको पाण्डव गुफा थियो। स्थानीय हरीहर काफ्लेले अहिले पहिलेकै अवस्थामा पाण्डव गुफा फर्किएको बताए।

उनले भने,‘पाण्डव गुफा आन्तरिक पर्यटकका लागि निकै आकर्षणको केन्द्र बनेको छ। सिँजा राज्यको थेसिस लेख्न आएका बाह्य पर्यटक समेत पाण्डवगुफा बारेमा निकै चासो राखिरहेका हुन्छन्।’ पाण्ड गुफा परम्परागत धार्मिक सम्पत्ति हो। यसलाई  लोप हुद दिनुहुदैन। समितिका अध्यक्ष भण्डारीले भने,‘यो गुफामा पाण्डवको इतिहास भेटिन्छ। यो इतिहासको अभिलेखीकरण गर्नमा जोडदिनुपर्छ।’ अहिले पाँच भाई पाण्डवको आकृति भएका मुर्ति राखिएको छ। वर्षमा आन्तरिक तथा बाह्य पर्यटक गरेर झण्डै ५ हजार भन्दा माथि आउने गरेको स्थानीय बताउँछन्।

गुफा संरक्षण सहयोगी डिल्ली कार्की नाग्म गमगडी सडक हुदैँ मुगुको राराताल जाने अधिकांस  पर्यटकले एक पटक पाण्डवगुफाको अवलोकन गरिराखेका हुन्छन्। पुस्तौअघि  कौरव र पाण्डवले जुवातास खेल्ने निर्णय गरे। जसले जुवा हार्छ उसले १२ वर्ष बनवास, १ वर्ष गुप्तवास बस्ने कबुल गरेका थिए। सोही कबुल अनुसार पाँच भाई पाण्डवले हारेपछि यो गुफामा आएर बसेको स्थानीय बुढापाका बताउँछन्। पाण्डव गुफा सम्म जाने पैदल मार्ग निर्माण गरिएको छ।

तर, पाण्डवगुफाको महत्व र पर्यटकीय महत्व बोकेका देखिएअनुसार गुफाको संरक्षण हुन सकेको छैन। कर्णबहादुर भण्डारीले भने,‘पाण्डव गुफाको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय सरकार,प्रदेश र संघीय सरकारलाई जोडदार माग गरिएको छ। तर मागको सुनुवाइ हुन सकेको छैन। सिँजा क्षेत्रमा रहेको यो गुफा धार्मिक पर्यटकीय दृष्टिले निकै महत्वपुर्ण मानिएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो