राप्रपा, नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन्।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले एमसीसी संसदबाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरुले दबाव र प्रभाव दिएको उल्लेख गर्दै उनीहरुकै चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका हुन्।

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपालको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एससीसी छिटो पास गर भनेर अमेरिकाले दवाव दिएको र चीनले रोक्नका लागि प्रयास गरेको भन्दै त्यसले नेपाल डरलाग्दो गरी शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्न सक्ने देखिएको स्पष्ट पारे।

उनले विदेशी शक्ति राष्ट्रहरुले नेपालको स्वतन्त्र अस्तित्वमाथिनै प्रश्न उठनेगरी राजनीतिक दलहरुका नेताहरुलाई दबाव दिइरहेको दावी समेत गरे। त्यसले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको अध्यक्ष थापाको भनाई थियो।

उनले भने,  ‘सबभन्दा डरलाग्ने र खतरा कुरा के भने नेपाल विस्तारै विश्व महाशक्तिको चलखेलको केन्द्र बन्न लागेको स्पष्ट हुन्छ। यही एमसीसीको कुरा गर्दा अमेरिकी पदाधिकारीहरु भन्छन्–चाँडोभन चाँडो निर्णय गर, नभए खारेज गर्छौं। चीनका पदाधिकारीहरु भन्छन्–जब्बरजस्ती अनुदान दिनु हुँदैन। नेपालले अनुदान लिने वा नलिने भन्नेकुरा हामीले निर्णय गर्ने कुरा हो। देशलाई हित हुन्छ भने लिन्छौं, हुँदैन भने हामी लिँदैनौं। तर विदेशी शक्तिको दबाव र प्रभाव हाम्रो राजनीतिक दलका नेताहरुलाई परिरहेको छ। यसले नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकतामाथि पनि गम्भिर प्रश्न खडा भएको छ।’

अध्यक्ष नेपालले विदेशी सहायता लिने/नलिने निर्णय लिने काम नेपालकै भएपनि त्यसमाथि शक्ति राष्ट्रहरुले हस्तक्षेप गरिरहेको बताए।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो