नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय ।

हेटौंडा । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले नेपाल खबर डटकम अनलाइन र बीजमाण्डु डटकम अनलाइनमा प्रकाशन भएको समाचार सम्बन्धी आल्पकालिन आन्तरिम आदेश दिएको विषयमा जिल्ला अदालत काठमाडौंलाई ध्यानाकर्षण गराएको छ । बुधबार पत्रकार महासंघका महासचिव रामप्रसाद दहालले एक विज्ञप्ती जारी गर्दै जिल्ला अदालत काठमाडौँले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचार सम्बन्धी दिएको आदेशका विषयमा आपत्ती जनाउँदै काठमाडौं जिल्ला अदालतलाई ध्यानाकर्षण गराएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दर्ता गरेको रिट निवेदन उपर सुनुवाइ गर्दै ‘…निवेदकलाई अपूरणीय क्षति र सुविधा सन्तुलनको दृष्टिकोणबाट विपक्षीहरूलाई आफ्नो वेबसाइट, अनलाइन वा अन्य माध्यमबाट अप्रमाणित, तथ्यहीन समाचारहरू प्रकाशन, प्रसारण नगर्नु, नगराउनु, प्रकाशित भएका समाचारहरू अनलाइनबाट तुरुन्त हटाउनु, हटाउन लगाउनु,’ भनी न्यायीधिश शर्माले निर्देशन दिएको महासंघले जनाएको छ ।

सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचारका विषयमा चित्त नबुझेको अवस्थामा पीडित पक्षको उजुरी लिने र त्यसबिरुद्ध कारबाही गर्ने प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारको विषय रहेको जीकिर गर्दै काउन्सिलको क्षेत्राधिकारलाई नजरअन्दाज गरेर अदालतबाट भएको उक्त आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता, नेपालको संविधान २०७२ का व्यवस्थाको मर्म विपरित भएको महासंघले जनाएको छ । संविधानले प्रस्तावनामै ’पूर्ण प्रेस स्वतन्त्रता’को प्रत्याभूत गरेकोले प्रेस स्वतन्त्रताको संवैधानिक व्यवस्थालाई कुनै पनि निकायको आदेशले सीमित गर्न नसक्ने महासचिव रामप्रसाद दहालले बताएका छन् । अदालतको गरेको आदेश नेपालको संविधानका व्यवस्था र मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यासविपरीत भएकाले महासंघले आपत्ती जनाएको महासचिव दहालले बताए ।

अदालतले गरेको आदेशप्रति पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै अन्यथा त्यसविरुद्ध अदालती प्रक्रिया तथा अन्य गतिविधि गर्न बाध्य ध्यानाकर्षणपत्र मार्फत चेतावनी दिएका छन् । सञ्चारमाध्यममा प्रकाशित सामग्रीको सन्दर्भमा त्यसको सम्पूर्ण जिम्मेवारी तथा त्यो सामग्रीमा कुनै प्रश्न उठेमा त्यसको सत्य तथ्य पुष्टि गर्ने दायित्व सम्बन्धित सञ्चारमाध्यमकै हुने हुँदा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिएको उनले बताए ।

पत्रकार महासंघले जारी गरेको विज्ञप्ती ।

 

 

 

 

 

 

रातो समाचार संवाददाता
थप जानकारी