सिम्पानी युथ क्लबको टिम ।

हेटौंडा । चितवनको राप्ती नगरपालिकामा जारी दोस्रो संस्करणको हासु एफसी कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । राप्ती नगरपालिका वडा–१,स्थित सिमरा खेलमैदानमा सेमीफाइनल अन्तिम खेलहरु सम्पन्न भएसँगै फाइनल समीकरण पूरा भएको हो । शुक्रबार भएको सेमीफाइनल चरणको खेलमा जीत निकाल्दै मकवानपुरको मनहरी गाउँपालिकाको सिम्पानी युथ क्लब फाइनलमा प्रवेश गरेको छ । सिम्पानी युथ क्लबले सेमीफाइनल चरणको खेलमा बागमती प्रदेश प्रहरीगण हेटौंडालाई ३–० गोलको फराकिलो अन्तरले हराउँदै उपाधि नजिक पुगेको छ । सिम्पानीको जीतमा पहिलो हाफको २ मिनटमै विजय दोङले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको २२ मिनेटमा अभिषेक स्याङ्तानले गोल गरेका थिए भने दोस्रो हाफकै २२ मिनेटमा रोशन दोङले अन्तिम गोल गरेका थिए ।खेलको म्यान अफ द म्याच सिम्पानी युथ क्लबका अञ्जल बछार घोषित भएका छन् ।

अब आइतबार हुने फाइनल खेलमा आयोजक सिमरा युवा समाज र सिम्पानी युथ क्लबबीच उपाधि भिड्न्ते हुनेछ । दुबै टिम जितको लक्ष्यसहित मैदानमा उत्रने छन् । शुक्रबार भएकै पहिलो सेमीफाइनल खेलमा नेशनल स्पोर्टस् क्लबलाई २–० गोलले हराउँदै आयोजक सिमरा युवा समाजले फाइनलको यात्रा पूरा गरेको थियो । बिहीबार राप्ती नगरपालिका वडा–१,स्थित सिमरा खेल मैदानमा भएको क्वार्टरफाइनलको अन्तिम खेलमा लामा स्पोर्टस् क्लबलाई १–० गोलले हराउँदै मनहरीको सिम्पानी युथ क्लब सेमीफाइनलमा प्रवेश गरेको थियो भने सोमबार भएको दोस्रो खेलमा जय मनकामना युथ क्लबलाई १–० गोलले हराउँदै सिम्पानी युथ क्लबले क्वार्टरफाइनलको यात्रा पूरा गरेको थियो ।

राप्ती नगरपालिका १ नम्बर वडा कार्यालयको संरक्षणमा तथा हासु एजुकेशन कन्सट्रेन्सीको प्रयोजनमा भदौ ३० गतेबाट प्रतियोगिता सुरु भएको प्रतियोगितामा २४ वटा टिमहरुको सहभागिता रहेको थियो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रियका लागि खेलकुद भन्ने मूल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, तृतीय हुने टिमले पनि १५ हजार रुपैयाँको नगद पुरस्कारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सिम्पानी युथ क्लब पहिलो संस्करण प्रतियोगिताको विजेता पनि हो ।

रातो समाचार संवाददाता
थप जानकारी