सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्न प्रतिवद्ध रहेको बताउनु भएको छ ।
गोरखापत्र संस्थानको अवलोकन भ्रमणका क्रममा बोल्दै मन्त्री कार्कीले सरकार तीनवटै तहको निर्वाचन समय मै सम्पन्न गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
गोरखापत्र संस्थानका कर्मचारीलाई सम्बोधन गर्दै उहाँले गोरखापत्रलाई विश्वासिलो र पठनीय बनाउने काममा जुट्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘गोरखापत्रको पहुँच देशका सबै भागमा पुग्नु पर्छ । साथै यो पुगेर मात्र हुँदैन आम मानिसले पढ्ने अखबार बनाउनु पर्छ ।’
गोरखापत्रलाई आकर्षक पठनीय बनाउन आग्रह गर्दै गोरखपत्र संस्थानको सुधारका लागि आफूले सक्दो सहयोग गर्ने मन्त्री कार्कीले बताउनुभयो । सो अबसरमा सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले अहिलेको समय अनुसार यस संस्थानका प्रकाशनहरुका विषय वस्तुको गुणस्तरका साथै छपाइमा पनि सुधारको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले गोरखपत्र संस्थाले विज्ञापन वापतको धेरै रकम उठाउन बाँकी रहेको उल्लेख गर्दै त्यसका लागि विशेष ‘इन्सेन्टिभ’को व्यबस्था गरेर नयाँ योजनाका साथ लाग्न सुझाव दिनुभयो ।
सो अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानका प्रकाशनहरुका बारेमा जानकारी गराउँदै गोरखापत्र संस्थानका प्रकाशनहरुलाई नयाँ डिजाइन र साजसज्जाका साथ प्रकाशन गर्न काम भईरहेको र बैशाख १ गतेबाट त्यसलाई पाठक समक्ष पु-याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो