तेस्रो प्रदेश युवा सम्मेलनको बारेमा जानकारी गराउँदै प्रदेश युवा परिषद्, बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं ।

हेटौंडा । तेस्रो बागमती प्रदेश युवा सम्मेलन भोलि आइतबारबाट सुरु हुँदैछ । प्रदेश युवा परिषद्, बागमतीको आयोजनामा भोलि आइतबारबाट सुरु हुने प्रदेश युवा सम्मेलन मंगलबार सम्म सञ्चालन हुनेछ । हेटौंडा–२,स्थित होटल एभोक्याडोमा हुने सम्मेलनमा ७ प्रदेशबाट ३०० भन्दा बढी युवाहरुको सहभागिता रहने छ । शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले विगतको वर्षमा प्रदेशस्तरीय युवा सम्मेलनको आयोजना गर्दै आएकोमा यस वर्ष ७ प्रदेशका युवाहरुले सहभागिता जनाउन पाउनेगरी राष्ट्रियस्तरको रुपमा सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।

युवालाई व्यवहारिक विषयमा ज्ञान र सञ्जाल विस्तारको अवसर प्रदान गर्ने मुख्य उद्देश्यले युवा सम्मेलनको आयोजना गर्न लागेको कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताए ।

सम्मेलनमा अनलाइन उद्यमशीलता, सहकारी व्यवस्थापन, कृषि उद्यमी, व्यवसायीक सीप विकासको विषयमा कार्यशालाको आयोजना गरिने कार्यकारी उपाध्यक्ष चौलागाईंले बताए । युवा सम्मेलनमा डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा विषयक प्यालन छलफल हुने कार्यकारी उपाध्यक्ष चौलागाईंले बताए । युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवाको संलग्नता र मुख्यमन्त्रीसँग युवाको संवाद हुने उनले बताए ।

सम्मेलनमा तालिम प्राप्त गरेका युवाहरुका अनुभव प्रेरणादायी कथा, अन्तप्रदेशस्तरीय युवा उद्यम, रोजगारीबारे अन्तर संवाद गरिने उनले बताए । उनका अनुासर युवामा सकारात्मक सोच विकासका लागि प्रतिभा र कला प्रर्दशनी गर्दै घोषणपत्र गरेर सम्मेलनको समापन गरिने छ ।