भलिबल प्रतियोगिताको सेमीफाइनल खेलमा हेटौंडा पहेँले जर्सीमा र भीमफेदी सेतो जर्सीमा भिड्दै गर्दाको तस्बीर ।

हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडा र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा जारी तेस्रो संस्करणको मकवानपुर जिल्ला पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा सेमीफाइनल चरणको दुई खेलमा जीत निकाल्दै फाइनलमा प्रवेश गरेसँगै हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाबीचको भेट पक्का भएको हो । प्रतियोगिता अन्तर्गत फाइनल खेल आज दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

मंगलबार बिहान भएको पहिलो सेमीफाइनल खेलमा हेटौंडाले भीमफेदी गाउँपालिकालाई ३–१ को सेटले पराजित गरेको छ भने दोस्रो सेमीफाइनल खेलमा थाहा नगरले बकैया गाउँपालिकालाई ३–० को सोझो सेटले पराजित गरेको छ । पहिलो सेमीफाइनल खेलमा भीमफेदीलाई २६–२४ को सेटले पराजित गरेको हेटौंडा दोस्रो सेटमा २२–२५ ले पराजित हुनुपरेको थियो । तर फाइनल प्रवेशको होडमा हेटौंडाले भीमफेदीलाई तेस्रो र चौंथो सेटमा २५–१८ र २५–१९ ले पराजित गरेको हो । बकैयालाई भने थाहा नगरले पहिलो, दोस्रो र तेस्रो सेटमा क्रमशः २५–१९, २५–१५ र २५–८ को सेटले सहजै पराजित गरेको हो ।

हेटौंडाले समूह चरणको पहिलो खेलमा इन्द्रसरोबरलाई र दोस्रो खेलमा बकैयालाई हराउँदै समूह क बाट विजेता बनेर सेमीफाइनलको यात्रा पूरा गरेको थियो भने भीमफेदीले समूह चरणको पहिलो खेलमा मकवानपुरगढीलाई पराजित गरेर दोस्रो खेलमा थाहानगरसँग पराजित भएर समूह ख बाट उपविजता बन्दै सेमीफाइनलको यात्रा पूरा गरेको हो । थाहा नगरले समूह चरणको पहिलो खेलमा भीमफेदीलाई र दोस्रो खेलमा मकवानपुरगढीलाई पराजित गर्दै समूह ख बाट विजेता बन्दै सेमीफाइनलको यात्रा पूरा गरेको हो भने बकैयालाई समूह चरणको पहिलो खेलमा बकैयालाई र तेस्रो खेलमा इन्द्रसरोबरलाई पराजित गर्दै समूह ख क बाट उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गर्दा दोस्रो खेलमा बकैया हेटौंडासँग पराजित हुनुपरेको थियो ।

मकवानपुर जिल्ला खेलकुद विकास समिति र हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको सहकार्य रहेको प्रतियोगिताका लागि उपमहानगरपालिकाले सहयोग गरेको छ । प्रतियोगितामा मकवानपुरको ७ वटा पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँको नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ८० हजार रुपैयाँको नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा सान्त्वना हुने टिमले ३० हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।