उपनिर्वाचन भइरहेको तनहुँ–१ मा दिउँसो २ बजेसम्म झन्डै ४० प्रतिशत मत खसेको अनुमान रहेको छ। जिल्ला निर्वाचन अधिकारी हरि ढकालले २ बजेसम्म ४० प्रतिशत मत खसेको अनुमान रहेको बताए।

निर्वाचन कार्यालयका अनुसार अघिल्लो निर्वाचनमा त्यहाँका ५४.०३ प्रतिशत मत खसेको थियो। यो पटक पनि त्यही आकारमा मत खस्ने अनुमान रहेको ढकालले बताए। ‘मतदान केन्द्रमा कमै संख्यामा मतदाता छन्। धेरैजसोमा मतदाता निकै नै कम आकारमा देखिएको छन्,’ ढकालले भने, ‘अघिल्लो पटककै हाराहारीमा मत खस्ने अनुमान छ।’

तनहुँ–१ मा एक लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन्। तनहुँ–१ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टिबाट डा. स्वर्णिम वाग्ले चुनावी प्रतिस्पर्धामा छन्। गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपनिर्वाचन हुन थालेको हो।

नागरिक न्युजबाट साभार गरिएको छ ।