कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनले अहिले सर्वत्र त्रास बढाएको छ।

गण्डकी प्रदेशको मुकाम पोखरामा पनि पछिल्लो समय कोरोना संक्रमण तिब्र छ। गण्डकी प्रदेशका सबैजसो जिल्लामा अहिले संक्रमण बढिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ। शून्यमा झरेको संक्रमण अहिले धमाधम उकालो लागिरहेको निर्देशनालयले बताएको छ।

संक्रमितको संख्या शुन्यमा झरेपछि एकसाता अघिसम्म ‘ग्रिनजोन’मा रहेका जिल्ला अहिले संक्रमित भेटिएपछि रेडजोनमा फर्केका छन्।

एकसाता अघिसम्म गोरखा, मनाङ र मुस्ताङ ग्रिनजोनमा थिए । तर, सोमबारसम्म मनाङ मात्र ग्रिनजोनमा छ। अरु जिल्लामा संक्रमित फेला परिसकेका छन्।

कोरोनासँग मिल्दोजुल्दो लक्षणले अहिले धेरै नागरिक बिरामी परेपनि ती सबैले परीक्षण गराएका छैनन। परीक्षण गराउने हो भने कोरोनाका बिरामी अहिले भन्दा अझै बढी भेटिने स्वास्थ्यकर्मीको आँकलन छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्तकालिन कार्य संचालन केन्द्रका अनुसार सोमबार गण्डकीमा ३ सय ७८ जनामा संक्रमण पुष्टि भएको थियो। आइतबारको गण्डकीको संक्रमितको संख्या २१३ थियो। यो संख्या गत पुस १६ गते २७ मात्र थियो। त्यो संख्या बिस्तारै उकालो लाग्दै गर्दा पछिल्लो साता भने एकाएक माथि चढेको छ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड–१९ फोकल पर्सन डा। शरदचन्द्र बरालले परीक्षण गराउने हो भने संक्रमितको संख्या अझै माथि पुग्ने बताउँछन। ‘अहिले घरघरमा बिरामी छन्। ती मध्ये केहीले परीक्षण गराएका छन् भने कतिपयले परीक्षण नै गराएका छैनन,’ बरालले भने, ‘संक्रमणले तिब्र गति लिएको छ। हामीले भयाभहको अवस्था देखेका छौ।’

उनका अनुसार स्वास्थ्यकर्मी पनि बिरामी भएका छन। १५ जनाजति स्वास्थ्यकर्मी बिरामी परेको अस्पतालले बताएको छ।

अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा १४ जना बिरामी भर्ना भएका छन। जटिल अवस्थाका बिरामी थपिने क्रममा रहेको उनले बताए। ‘यत्तिको अप्ठेरो अवस्था आउँदा पनि सहयोग कतैबाट पाएका छैनौ। हामीलाई निकै नै समस्या परेको छ,’ उनले भने । परीक्षणको दायरा बढाउने हो भने अहिलेको संख्या अझै बढ्ने उनको अनुमान छ।

 

news-

nagariknews.nagariknetwork.com