जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न ठाउँमा चरेस र भाँगो उत्पादनका लागि लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरेको छ।

गाँजा खेतीबाट चरेस, गाँजा, उत्पादन हुने भएका कारण खेतबारीमा लगाइएको खेती र विभिन्न ठाउँमा आफैँ उम्रिएको गाँजा नष्ट गर्न सुरु गरिएको हो।

जिल्लाको विथ्थडचिर गाउँपालिका, थलारा गाउँपालिका, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिका, केदार स्युँ गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका लगायतका पालिकाहरुमा लगाएको र आफैँ उम्रिएको गाँजालाई प्रहरीको टोली, स्थानीय बासिन्दा तथा जनप्रतिनिधि मिलेर नष्ट गरेका हुन् ।

जिल्लाभरि आइतवारसम्म मात्रै झन्डै १० रोपनी जग्गामा उम्रिएको र लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

गाँजाबाट चरेस उत्पादन हुने भएका कारण चरेसलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यले आफैँ उत्पादन भएको र लगाएको गाँजालाई नष्ट गर्ने अभियान जिल्लाभरि सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनु भयो ।

उहाँले भन्नुभयो ‘बझाङमा लागुऔषधको मुख्य जग भनेको यही गाँजा नै रहेछ । यसलाई मात्रै नियन्त्रण गर्न सके लागुऔषधमा लागेका धेरै युवाहरुको भविष्य सुध्रिने र चरेस पैठारी गर्ने क्रममा सामान्य नागरिक फस्ने भएका कारण यसबाट सामान्य नागरिकहरु जोगाउनका लागि यो अभियान सुरु गरिएको हो।

आर्थिक वर्ष २०७६र०७७ देखि आ।व २०७९र०८० को अहिलेसम्म लागुऔषध चरेससहित १५ जना पुरुष ४ जना महिला गरी १९ जना कारबाहीको दायरामा छन् भने ४ जना पुरुष १ जना महिला गरी ५ जना फरार रहेका र उनीहरुको खोजी भइरहेको डीएसपी भण्डारीले बताउनु भयो ।

आर्थिक वर्ष २०७६र०७७ मा सबैभन्दा बढी ११ जना पुरुष २ जना महिलालाई प्रहरी प्रक्राउ गरेको छ भने १ जना पुरुष फरार रहेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ । उनीहरुबाट यस आ।व।मा ३९ केजी २ सय ३९ ग्राम चरेस बरामद गरिएको थियो । यस्तै आ।व। २०७७र०७८ मा २५ केजी ७ ग्राम ८१ मिलिग्रामसहित २ पुरुष १ महिलालाई प्रहरीले लागुऔषध चरेससहित पक्राउ गरेको थियो ।

आर्थिक वर्ष २०७८र०७९ मा २७ केजी ७८० ग्राम लागुऔषध चरेससहित १ महिला पक्राउ परेकी छिन् भने दुई जना पुरुष फरारको सूचीमा छन् ।अहिलेसम्म २७ केजी ७८० ग्राम चरेससहित २ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने एक महिला एक पुरुष फरारको सूचीमा रहेका भण्डारीले बताउनुभयो ।

अहिलेसम्म जिल्ला प्रहरी कार्यालयले १२० केजी चरेस बरामदसहित नष्ट गरेको छ। बझाङको साइपाल गाउँपालिका, विथ्थडचिर गाउँपालिका, सुर्मा गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, बुङ्गल नगरपालिकाका माथिल्लो भेगहरुमा स्थानीय बासिन्दाले गाँजाको खेती नै गर्ने गरेको पाइन्छ।