नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गरेका छन्।

मध्यपुरथिमि ४ बालकुमारीमा (हिजो) बिहीबार नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिदेखि विरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवा वर्गलाई आग्रह गरे।

पाँच वर्षका लागि चुनाव जितेको तत्कालीन नेकपाले सरकार चलाउँदा केपी शर्मा ओलीले अब ५० वर्ष नेकपाको सरकार भन्ने तर तीन वर्ष पनि सरकार चलाउन नसक्ने भन्दै उनले ओलीले अहिले पनि दादागिरी प्रस्तुत गरेको टिप्पणी गरे। नेकपाकै सरकार रहेको बेलामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बूढानीलकण्ठमा गएर सरकार बुझाएपछि देशका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नुपरेको उनको भनाइ थियो।

उनले एमालेतर्फ लक्षित गर्दै सिंहदरबारमा ढङ्ग नपुग्दा र समृद्धिको भात पकाउन परिपक्वता नहुँदा काँचो बनेको टिप्पणी गर्दै कांग्रेसले कुनै पनि विषयमा राष्ट्रघात नगर्ने बताए। एमसीसी राष्ट्रघात हो भन्ने कुरा बेकार हो भन्दै उनले कांग्रेसले कहिल्यै राष्ट्रघात गर्न नसक्ने बताए। कुनै पनि देशको सैन्य रणनीति नेपाललाई स्वीकार्य नहुने बताउँदै उनले एमसीसीमा सैन्य रणनीति नरहेको प्रष्ट पारे।

एमाले अध्यक्ष ओली आफैँले मन्त्रिपरिषदबाट निर्णय गराएर एमसीसी सम्झौता संसदमा दर्ता गराएको बताउँदै उनले संसदमा नाराबाजी गरिरहँदा कुनै पनि दिन एमसीसी मुर्दावाद नभन्नु, एमसीसीका बारेमा बोल्दै नबोल्नु एमालेको पनि एमसीसीमा समर्थन थियो भन्ने पुष्टि हुने भनाइ राखे।

चुनाव अगाडि एमसीसी राष्ट्रघात हुने र चुनावपछि राष्ट्रहित हुन्छ भन्ने पक्षमा कांग्रेस नरहेको बताए। एमसीसी चुनावपछि पास गरौँ भन्नेहरूले बानेश्वरमा उफ्रिरहेका युवाको भोटमात्रै हेरेको, तर कांग्रेसले त्यस्ता युवाको भविष्य पनि हेरेको दाबी गर्दै उनले नेपालमा पनि युक्रेनमा रुसले गरेजस्तै अवस्था आउन सक्छ भनेर गलत प्रचार गरिएको बताए।

नेपाल गरिब देश भएकाले सैन्य रणनीतिबाहेक जुनसुकै देशको सहयोग पनि स्वीकारेर देशको विकासमा लगाउनुपर्ने उनको धारणा थियो। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति दूर्लभ थापा, सभापतिका प्रत्यासी युवा नेता अष्टकुमार कँवे, मध्यपुर नगर सभापति हरिदास प्रजापतिलगायतले चुनावी अभियान सुरु भएको भन्दै आउँदो चुनावमा कांग्रेसको जित सुनिश्चित हुने गरी कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो