नेपाल सुपर लिग ९एनएसएल० ले दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्ने १० फ्रेन्चाइज टिमका लागि खेलाडीहरूको ‘अक्सन’ शुक्रबार गर्दै छ, जसका लागि उसले २४२ खेलाडीको सूची निकालेको छ । त्यसअघि नै ‘मार्की’ खेलाडीका लागि २२ जनाको नाम सार्वजनिक गरेको थियो । यो प्रक्रियामा खेलाडी र उनीहरू आबद्ध क्लबहरूको स्वीकृति नलिएपछि एनएसएल विवादित बनेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबहरूसँगको सम्झौता बाँकी छँदै एनएसएलका टिमहरूले ‘मार्की’ को रूपमा खेलाडी अनुबन्ध गरेपछि देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगितामा विवाद सुरु भएको हो । ए डिभिजन लिग च्याम्पियन मछिन्द्रसँगै, थ्रीस्टार, मनाङ मर्स्याङ्दी, एनआरटी, सातदोबाटो, संकटा, जावलाखेल र फ्रेन्ड्स क्लबका पदाधिकारीरसदस्यहरूले फागुन १५ मा विज्ञप्ति जारी गर्दै आफ्नो स्वीकृति लिएर मात्रै अन्य क्लब ९एनएसएल टिम० लाई खेलाडी अनुबन्ध गर्न आग्रह गरेका थिए । त्यसलाई बेवास्ता गरेको भन्दै ती ८ क्लबले छलफलपछि मात्रै अक्सन गर्न माग गर्दै फागुन १८ मा एन्फालाई ध्यानाकर्षण गराएको थियो ।

त्यसैले अखिल नेपाल फुटबल संघ ९एन्फा० ले ८ क्लबसँग बिहीबार बैठक गर्दै एनएसएललाई अक्सन रोक्न आग्रह गर्‍यो । तर, एन्फाको आग्रहलाई एनएसएलले अस्वीकार गरिदियो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘क्लबहरूले आफ्ना खेलाडीहरू सम्झौता बाँकी भए पनि कुनै सल्लाह नगरी एनएसएलले लिएको र अक्सन गर्न खोजेको भनेपछि छलफलबाट निर्णय गरेर अक्सन रोक्न एनएसएललाई पत्र काटेका छौं, जानकारी दिएका छौं, अक्सन रोक्दा राम्रो हुन्छ भनेका छौं । एनएसएलले कुरा गर्न खुला छ, अक्सन गरेर त्यहीअनुसार जाउँला भन्यो ।’

‘हामीले त्यस्तो पत्र देखेका छैनौं, भोलि नगर्नुस् ९अक्सन० भनेर एन्फा महासचिवले अनुरोध गर्नुभएको छ,’ एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालि९एनएसईएम० का प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले बिहीबार बेलुकी कान्तिपुरसँग भने, ‘हामी अक्सन गर्ने पक्षमै छौं । पहिलादेखि सूचना दिएकै हो । एन्फाले दिएकै सूचीअनुसार खेलाडीलाई अक्सनमा राखिएको हो । अन्तिम अवस्थामा आएर रोक्दैनौं ।’ उनले थपे, ‘अक्सन गर्नेबित्तिकै खेलाडी भोलि नै रोक्ने भन्ने होइन, सल्लाह गरेर अगाडि बढ्न खुला छौं ।’

‘ए डिभिजन लिग खेल्ने क्लबमा सबै खेलाडीको सम्झौता चैत ९२०७८० सम्म छ । एनआरटी र मनाङमा लामो अवधिको सम्झौता गरेका खेलाडीहरू पनि रहेछन्,’ संकटा क्लबका अध्यक्षसमेत रहेका तुलाधरले भने, ‘चैतसम्म खेलाडीहरूले क्लबबाटै खेल्नुपर्छ, त्यसपछि मात्रै अक्सनमा जान पाइन्छ भन्ने क्लबहरूको कुरा हो ।’

उनले थपे, ‘एनएसएलले अक्सन रोकेन भने क्लबहरूले के गर्छ, एन्फाले के गर्छ भन्ने नै हो । अक्सन गरेर कुरा नमिल्ने भन्ने पनि होइन, तर आयोजक गम्भीर हुनुपर्छ । हमीले अप्रिय निर्णय लिनुपर्ने हुन सक्छ । त्यसैले अक्सन रोकेर २–४ दिनमा समस्या सुल्झाएर गरौं भनेको हो ।’ एन्फाले स्वीकृति दिएका मोफसलका ६ गोल्डकप ९झापा, खप्तड, राजर्षि जनक, इटहरी, सिमरा र दमक० चैत १९ भित्रै सकिने पनि उनले बताए ।

क्लबहरूसँग सहकार्य गरेरै अगाडि बढ्ने दाबी गर्दै शर्माले भने, ‘क्लबको रिलिज भएन भने त्यो खेलाडी खेल्दैन ९एनएसएलमा० । खेलाडी, क्लब र आयोजकले सहमति खोज्नुपर्छ ।’

अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० र एसियाली फुटबल महासंघ ९एएफसी० ले मान्यता दिएको एन्फाको मुख्य घरेलु प्रतियोगिता सहिद स्मारक लिग नै हो । एन्फाको क्यालेन्डरमा एनएसएल कहींकतै उल्लेख छैन । तर, महामारीमै भएको यसको पहिलो संस्करणले नेपाली फुटबलको आकर्षण बनेको छ । त्यसैले पनि एन्फाको आधिकारिक प्रतियोगिता खेल्ने क्लब र एउटा निजी कम्पनीले आयोजना गर्ने एनएसएलबीच विवाद सिर्जना भएको हो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको क्लब हिमालयन शेर्पा, तीन विभागीय टिम र रेलिगेसनमा परेका दुई टिम भने चुपचाप छन् ।

एनएसईएम देशकै ठूलो व्यावसायिक घराना चौधरी ग्रुपको कम्पनी हो । उसले इन्डियन सुपर लिग ९आईएसएल० को सिको गर्दै गत वर्ष एनएसएल सुरु गरेको थियो । यसपालि स्पोर्टिङ इलाम डे मेची, झापा एफसी र वीरगन्ज युनाइटेड थपिएपछि चैत २६ देखि जेठ ७ सम्म हुने दोस्रो संस्करणमा १० टिमले प्रतिस्पर्धा गर्ने भएको छ ।

।।।
रेजर्सको बालगोपाल र विकेशमै विश्वास

नेपाल सुपर लिग ९एनएसएल० को डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले आफ्नो प्रशिक्षकमा बालगोपाल महर्जन र मार्की प्लेयरमा विकेश कुथुलाई निरन्तरता दिएको छ । काठमाडौं रेजर्सले बिहीबार आयोजित कार्यक्रमबीच उनीहरूलाई अनुबन्ध गरेको हो । टिमका निर्देशक विज्ञानराज शर्माले उनीहरूसँगको अनुबन्धनमा हस्ताक्षर गरे । काठमाडौं रेजर्सले गत वर्ष पहिलो संस्करणको एनएसएल जितेको थियो । टोलीले फाइनलमा धनगढी एफसीलाई हराएको हो ।

यसपल्ट प्रतियोगिता चैत २६ देखि जेठ ७ सम्म आयोजना हुँदै छ । यसपालि प्रतियोगितामा सहभागी टिम संख्या बढाएर १० पुर्‍याएको छ । खेल पोखरा तथा काठमाडौं गरी दुई सहरमा हुनेछ ।

अनुबन्धका अवसरमा प्रशिक्षक र मार्की प्लेयर दुवैले आफूले जितेको उपाधिको रक्षाका लागि पूरा प्रयास गर्ने दाबी गर्दै त्यसका लागि आपनो टिम सक्षम हुने विश्वास पोखे । निर्देशक शर्माले आफूहरूले उपाधि रक्षा गर्न सक्ने टिम तयार गर्ने क्रममा रहेको बताए ।

त्यसै अवसरमा उनले प्रतियोगिता सुरु हुनु अगाडि नै अनुबन्धसम्बन्धी सबै विवाद टुंगो लाग्ने दाबी गरे । उनले सहिद स्मारक लिग ए डिभिजनसँग क्लबले खेलाडी रिलिज प्रक्रिया सुरु हुने पनि प्रतिक्रिया दिए । उनले भने, ‘खेलाडी लिलामी छिट्टै भएकाले मार्की प्लेयर घोषणा गर्नुपरेको हो । एउटै खेलाडीले दुई फरक क्लबमा एकै समय सम्झौतामा रहन सक्दैन । प्रतियोगिता सुरु हुन अझै समय छ, अहिलेलाई अनुबन्धनको प्रक्रियामात्र हो ।’

कार्यक्रममा काठमाडौं रेजर्सका मालिक विष्णु अग्रवालले भविष्यमा दीर्घकालीन महत्त्वको भौतिक पूर्वाधारमा लगानी हुने बताए । उनले भने, ‘सबै कुरा पाइला–पाइला चालेर अगाडि बढ्ने हो । कर्पोरेट हाउसले अहिले करोडौं खर्च गरेर टिम बनाएका छन् । गत वर्ष कोरोना र अन्य कारणले भैतिक पूर्वाधारको काम भएन । अब हामी योजनाबद्ध भएर अगाडि बढ्ने छौं ।’ उनले आफूहरूबाट नेपाली फुटबललाई घाटाको कुनै काम नहुने वचन दिए ।

विशाल र युगलकिशोर निरन्तर

पछिल्लो संस्करणको उपविजेता धनगढी एफसीले एनएसएल दोस्रो संस्करणका लागि राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ ।

मुख्य प्रशिक्षक युगलकिशोर राईलाई पनि फेरि अनुबन्ध गरेको छ । गो ड्रिमर्सको स्वामित्वमा रहेको धनगढी एफसीले बिहीबार विज्ञप्ति जारी गर्दै मार्की र मुख्य प्रशिक्षकलाई निरन्तरता दिएको जनाएको हो । गोलकिपिङ कोच मीन बस्नेतलाई निरन्तरता दिएको छ ।

पछिल्लोपल्ट मछिन्द्र क्लबमा आबद्ध विशाल लगातार चारपल्टका सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता हुन् । युगलकिशोर र मीन गत साता सम्पन्न ए डिभिजन लिगमा हिमालयन शेर्पामा आबद्ध थिए । धनगढी पहिलो संस्करणको फाइनलमा काठमाडौं रेजर्ससँग १–० ले हारेको थियो ।

क्लबका प्रमुख सुवास शाहीले विज्ञप्तिमा भनेका छन, ‘देशभरकै फुटबलप्रेमीलाई खुसी बनाउन प्रयास गर्ने छौं र आफ्नो क्षेत्रमा फुटबल विकासको आधार तयार पार्न प्रयास गर्ने छौं । मार्की प्लेयर, मुख्य प्रशिक्षक र गोलरक्षक प्रशिक्षकलाई निरन्तरता दिएसँगै अबको प्रतियोगितामा सफलता हात पार्नेमा विश्वस्त छौं ।’

विराटगनरको प्रशिक्षकमा विष्णु

विराटनगर एफसीले आफ्नो प्रशिक्षकमा विष्णु गुरुङलाई नियुक्त गरेको बिहीबार घोषणा गरेको छ । दोस्रो संस्करणको नेपाल सुपर लिगमा विराटनगरले गुरुङको नेतृत्वमा चुनौती पेस गर्नेछ । क्लबले उनी आफ्नो टिमको उद्देश्य प्राप्तिका लागि उपयुक्त प्रशिक्षक रहेको दाबी गरेको छ ।

 

सहिद स्मारक लिग ए डिभिजन ०७८ मा गुरुङले संकटा क्लबको प्रशिक्षण सम्हालेका थिए । यस्तै विराटनगरले मार्की खेलाडीमा फेरि रञ्जित धिमाललाई नै अनुबन्ध गरेको छ । विराटनगरले विदेशी खेलाडीका रूपमा उलरिच सिवेलाई फेरि अनुबन्ध गरेको छ । पछिल्लो संस्करणमा विराटनगरले प्रशिक्षक यान लको नेतृत्वमा खेलेको थियो । सात टिममध्ये टोली छैटौं स्थानमा रहेको थियो ।

यो समाचार कान्तिपुर बाट साभार गरिएके हो