महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले हिंसा, विभेदलगायतका घटना बढ्दा तुरुन्त उद्धारका लागि सम्पर्क गर्न सकिने संयन्त्र गठनको पहल भइरहेको बताउनुभएको छ । उहाँले राष्ट्रिय महिला आयोगको २०औँ स्थापना दिवस तथा ११२औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

मन्त्री रेग्मीले महिला विकास कार्यालय खारेज भएपछि मुलुकको जुनसुकै क्षेत्रमा महिलामाथि हिंसाका घटना हुँदा महिला आयोग र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमै खबर गर्नुपर्ने स्थिति अन्त्यका लागि त्यस्तो संयन्त्र बनाउने पहल भइरहेको बताउनुभयो ।उहाँले विक्रम संवत् २०५८ फागुनमा महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यको उद्देश्यले स्थापना गरिएको महिला आयोगले अब दूूरदराजमा रहेका महिला, किशोरी सशक्तीकरणको काम गर्नुपर्नेमा जोड दिनुभयो । सहरमा रहने शिक्षित महिलाले आफूूमाथि भएको विभेदविरुद्ध आवाज उठाउन सक्ने, आर्थिक पक्ष सबल बनाउन सक्छन् भन्नुहुँदै मन्त्री रेग्मीले आयोगले यस वर्गका लागि पनि काम गर्दै आएको छ भन्नुभयो । महिलामाथि हुने हिंसा न्यूनीकरण, हक–अधिकार संरक्षण, राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्धि, कानुन कार्यान्वयन, अनुगमन गर्ने उद्देश्यले विसं २०५८ फागुन २३ गते आयोग स्थापना भएको थियो ।

कार्यक्रममा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगले सरकारलाई नीतिगत कुरामा सहयोग गर्नुपर्ने जिम्मेवारीसहित बनेका कानुनको कार्यान्वयन भए÷नभएको अनुगमनसमेत गर्दै आएको बताउनुभयो । उहाँले आयोगको उद्देश्यअनुरूप महिलामाथि हिंसा हुँदा ‘खबर गरौँ ११४५’ मार्फत आएका सूचना तथा अन्य स्रोतबाट प्राप्त सूचनाका आधारमा त्यस घटनामा उचित सम्बोधन गर्ने, साथै आवश्यक सिफारिससमेत गर्दै आएको बताउनुभयो ।

आयोगका सचिव कविराज पौडेलले आयोगको कार्यक्षेत्र र जिम्मेवारीबारे जानकारी दिँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको पूर्ण कार्यान्वयनको अवस्थासहित अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट बुझाउनुपर्ने प्रतिवेदनसमेत तयार गर्दै आएको बताउनुभयो ।
आयोगका संस्थापक उपाध्यक्ष एवं जापानका लागि निवर्तमान राजदूत प्रतिभा राणाले महिला अधिकारको क्षेत्रमा प्राप्त उपलब्धि रक्षाका लागि आर्थिक सशक्तीकरणमा जोड दिनुभयो ।

कार्यक्रममा समाजसेवी एवं उद्यमी इन्दिरा सापकोटालाई सम्मान गरियो । त्यसैगरी, अधिकारकर्मीहरू नजबुल खान ‘निलम’ र प्रेन्सा रेग्मीलाई २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा ‘नेपालमा महिलाको अवस्था’ पुस्तक लोकार्पण गरिएको थियो । महिला आयोगमा लामो समयसम्म सेवा पु-याउनुभएका कर्मचारीहरू सानीमैयाँ चौधरी, विजय राउत थारू, कृष्णबहादुर बढापिर्ती र कुमार राउतलाई जनही १० हजार रुपियाँसहित प्रशंसापत्र प्रदान गरियो ।

सम्मानित तथा उपहार प्रदान
नारी दिवसकै सन्दर्भमा न्हापाङ्गु पलाः नेवाः मिसा पुचःले म्यान्टी महर्जन, सगरमाथा आरोही पत्रकार कल्पना महर्जन, मिस नेवाः ११३२ तथा रञ्जना लिपिका प्रशिक्षक सुनिता डङ्गोल र १०५ वर्षीय ज्येष्ठ नागरिक बुद्धिमाया महर्जनलाई सम्मान गरेको छ । सम्यक र सिरपा सायमीले आफ्नो विवाह उत्सवको उपलक्ष्यमा ३५ जना ज्येष्ठ नागरिकलाई साडी, चोलो, सो पुचःले जुत्ता र नेपाली काँग्रेसकी नेत्री राज्यलक्ष्मी श्रेष्ठले पछ्यौरा उपहारस्वरूप प्रदान गर्नुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो