उखु अभाव भएपछि सर्लाहीका दुईवटा चिनी उद्योग यो वर्ष बेलैमा बन्द भएका छन् । जिल्लाको महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल छोटो समय सञ्चालन भएर बन्द भएका हुन् । भारतीय सीमावर्ती क्षेत्र नजिकै रहेको महालक्ष्मी चिनी उद्योग बगदह यो वर्ष आठ लाख ३८ हजार क्विन्टल उखु पेलेर सोमबारदेखि बन्द गरिएको उद्योगका उखु प्रबन्धक शियाराम साहले जानकारी दिनुभयो ।

उद्योगले यो वर्ष १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको भए पनि उखु नपाएपछि लक्ष्य पूरा नभई उद्योग बन्द गर्नुपरेको उद्योगका उखु प्रबन्धक साहले बताउनुभयो । उद्योगले माघ १६ गतेसम्म किसानबाट खरिद गरिएको उखुको भुक्तानी गरिसकेको र बाँकी रकम पनि भुक्तानीको चरणमा रहेको जनाएको छ ।

यस्तै गत वर्ष बन्द भएर यस वर्षबाट सञ्चालनमा आएको जिल्लाको पश्चिमी क्षेत्रमा रहेको अन्नपूर्ण चिनी उद्योग धनकौल एक हप्तामै बन्द भएको छ । उद्योगले पर्याप्त उखु नपाएका कारण यो वर्ष जम्मा ४० हजार क्विन्टल उखु क्रसिङ गरेर बन्द गरिएको उद्योगका सञ्चालक शैलेन्द्र गुप्ताले बताउनुभयो ।

उहाँले यो वर्ष उद्योगको स्वामित्व आफूहरूले लिएपछि परीक्षणकै क्रममा थोरै परिमाणमा उखु क्रसिङ गरिएको र अर्को वर्षबाट उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने बताउनुभएको छ । यसैगरी जिल्लाको उत्तरी भेगस्थित इन्दुशङ्कर चिनी उद्योग हरिवनले भने अहिले पनि उखु क्रसिङ गरिरहेको छ ।

यो उद्योगले पनि पर्याप्त उखु नपाएका कारण दुईवटा मेसिनमध्ये एउटा मात्रै सञ्चालन गरिरहेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगले हालसम्म २२ लाख ४५ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ ।
चैत पहिलो हप्तासम्म उद्योग चलाएर बन्द गर्ने तयारी रहेको उखु प्रबन्धक रजकले बताउनुभयो । उहाँका अनुसार इन्दुशङ्करले किसानलाई फागुन ६ गतेसम्म खरिद गरिएको उखुको भुक्तानी गरिसकेको जनाएको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो