सिक्कीम (मुनसोङ) । छिमेकी मुलुक भारतको सिक्कीमा ७९ औँ इन्डिपेन्डेन्स डे को अवसरमा सञ्चालन भइरहेको इन्डिपेन्डेस डे फुटबल प्रतियोगिताको सेमीफाइनलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर नेपालको टिम प्रवेश गरेको छ । मुनसोङ्ग सिनचोन युथ क्लबले आयोजना गरेको प्रतियोगिता अन्तर्गत शनिबार भएको क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको हेटौंडा फुटबल एकेडेमीले बरमेक क्लबलाई ३-१ गोलले पराजित गर्दै सेमीफाइनलको यात्रा पूरा गरेको छ ।

हेटौंडा फुटबल एकेडेमीको तर्फबाट पहिलो हाफको १२ मिनेटमा शक्तिमान थिङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफकै १९ मिनेटमा सुजन तितुङले गोल गर्दै २-० को स्थितिमा पुर्‍याए । बरमेक क्लबाट पहिलो हाफमै रहुल थापाले सन्त्वना गोल गरेका हुन् । दोस्रो हाफको १४ मिनेटको खेलमा सुजन भोम्जनले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच हेटौंडाका गोलरक्षक अस्मिर गोङ्बा घोषित हुँदै ट्रफी प्राप्त गरेका टिम म्यानेजर सञ्जय लामाले जानकारी दिएका छन् । अगष्ट ११ तारिखमा हेटौंडा फुटबल एकेडेमीले सेमीफाइनलको खेल खेल्नुपर्ने टिम म्यानेजर सञ्जय लामाले बताए । टिम म्यानेजर लामाकै नेतृत्वमा रहेको हेटौंडाको टिमले उक्त खेलमा जीत निकाले फाइनलको यात्रा पूरा गर्नेछन् ।

यस अघि ५ तारिखमा भएको पहिलो खेलमा न्यू जेनेरेशन क्लबलाई टाइब्रेकरमा हराउँदै हेटौंडा फुटबल एकेडेमीको सुखद् सुरुवात गरेको टिम प्रशिक्षक भीम लामाले बताए। खेलको निर्धारित समय १र१ गोलको बराबरीमा रोकिएपछि टाइब्रेकरको सहारा लिनुपरेको थियो ।

प्रतियोगिताको उपाधि विजेता टिमले र उपविजेता टिमले नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुला लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा २४ वटा टिमहरुको सहभागिता रहेको थियो ।