नेपालबाट रोजगारका लागि इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारले ढिलाइ गरेको छ । पछिल्लो समय ओमिक्रोनको जोखिम बढेको भन्दै इजरायलमा सहायक कामदार (केयरगिभर) मा छनोटमा परेका नेपाली युवाको उडान अनुमतिमा ढिलाइ भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताउनुभयो ।

उहाँले रोजगार सम्झौता भएका श्रमिकलाई छिटो छरितो पठाउने सम्बन्धमा विभाग र इजरायल पक्षबीच नियमित रूपमा छलफल भइरहेको पनि जानकारी दिनुुभयो । गोला प्रथाबाट अन्तिम छनोटमा परेका एक हजार १७५ मध्ये हालसम्म एक हजार आठ युवाको दोहोरो श्रम सम्झौता सम्पन्न भएको छ ।
दोहोरो श्रम सम्मझौता भएका मध्ये छ सयभन्दा बढी युवा इजरायल जाने प्रतीक्षामा रहेका छन् भने करिब चार सय युवा इजरायल पुगिसकेका छन् ।

विभागका महानिर्देशक पौडेलले इजरायलमा रोजगारका लागि छनोट भएका श्रमिकको भिसा प्रक्रियाका लागि श्रमिकको विवरण इजरायलको जनसङ्ख्या तथा अध्यागमन कार्यालय र नेपालस्थित इजरायली दूतावास पठाउने र त्यहाँबाट भिसा प्रक्रियाको काम भइरहेको बताउनुभयो ।
उहाँका अनुसार हाल इजरायलमा त्यहाँका श्रमिकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका कारण उडान केही ढिलाइ भएको छ । इजरायलको रोजगारीमा नेपाल पक्षबाट भने सबै काम निरन्तर भइरहेको महानिर्देशक पौडेलको भनाइ छ ।

विभागका अनुसार इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा पठाइनेमध्ये अधिकांश सहायक श्रमिकको करार सम्झौता (एसईसी) प्राप्त हुने क्रममा रहेको छ । विभागका अनुसार प्राप्त करार सम्झौतापत्रमा सम्बन्धित उम्मेदवारबाट पाँच दिनभित्र सम्झौता गराई इजरायलको जनसङ्ख्या तथा अध्यागमन विभाग (पिवा) मा पठाउन तथा भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर विभागमा समेत पठाउने प्रयोजनका लागि हाल कागजात लिने तथा हस्ताक्षर गर्ने काम भइरहेको छ । यसका लागि विभागले व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, भैँसेपाटी, ललितपुरमा आवश्यक कागजात सङ्कलन, हस्ताक्षर र अभिमुखीकरणको काम गर्दै आएको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो