फागुन कृष्ण चतुर्दशीका राति मङ्गलबार धार्मिक उल्लासका साथ महाशिवरात्रि पर्व मनाइँदै छ । त्यसको सम्पूर्ण तयारी पूरा भएको छ ।
सामान्य स्तुतिबाटै छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका निराकार शिव स्वरूप यसै रात प्रकट भएको भन्ने धार्मिक मान्यता छ । मुलुकका सबै शिवालयमा पर्वको तयारी भएको छ ।

उपत्यकाका कतिपय शिवालयमा साधुसन्तलगायत दर्शनार्थीको उपस्थिति बाक्लिएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पशुपतिनाथ मन्दिरको चाँदीको ढोका मङ्गलबार बिहान ३ः०० बजे नै दर्शनार्थीका लागि खुला हुन्छ । यस वर्ष छ लाख भक्तजनले पशुपतिनाथ दर्शन गर्ने अनुमान गरिएको छ ।

कस्तुरीसहितको पञ्चामृत स्नानको कलशजल, चन्दन, प्रसाद दर्शनार्थीलाई उपलब्ध गराउने व्यवस्था गरिएको अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलले जानकारी दिनुभयो । दर्शनार्थीले चारै प्रहर पशुपति मन्दिरमा प्रवेश पाउनेछन् ।
पशुपति क्षेत्रमा दर्शनार्थीको स्वास्थ्य उपचारका लागि रामघाट स्वास्थ्य केन्द्र, मारवाडी सेवा समितिको होमियोप्याथिक शिविर, अस्पताल लैजानु पर्दा सिर्जनशील युवा क्लबको एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । रामघाट केन्द्रका सदस्य ध्रुव भेटुवालका अनुसार शिविरमा विशेषज्ञ चिकित्सकसमेत खटिएका छन् ।

अशक्त र अपाङ्गता भएकालाई स्वयंसेवामा खटिएका नवरस स्काउटले सिधै मन्दिर परिसर लैजाने व्यवस्था गरिएको स्काउट अगुवा वरुण खतिवडाले बताउनुभयो । पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था पनि निकै कडा गरिएको छ । पशुपति क्षेत्र गौशालामा चार हजार तीन सयसुरक्षाकर्मी खटाइएको छ । त्यसमा एक हजार पाँच सय महिला प्रहरी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेश मैनालीले पशुपतिनाथ क्षेत्रमा सोमबार साँझ ४ बजेबाटै सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । तीर्थयात्रीको सुरक्षा व्यवस्थापनका लागि प्रहरी उपरीक्षकको कमान्डमा ११ स्थानमा ‘सब–कमान्ड पोस्ट’ स्थापना गरी चोरी, पकेटमारी, सिक्री थुत्नेजस्ता अपराध नियन्त्रणलाई प्रभावकारी बनाइएको छ ।
उहाँका अनुसार सादा पोसाकका प्रहरी २४ घण्टा परिचालन गरिएको छ । सुरक्षाकर्मीलाई सिफ्टअनुसार विभाजन गरी एक सिफ्टमा नौ सय सुरक्षाकर्मी खटाइएको छ । मानिस हराए वा स्वास्थ्य समस्या देखिए सुरक्षाकर्मीद्वारा नै उद्धार तथा सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

यसैबीच पशुपतिनाथ क्षेत्रमा सोमबार मध्यरातबाट सवारीसाधन आवागमन निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता सञ्जीव शर्मा दासले शिवरात्रिमा हुने भीड व्यवस्थापनका लागि विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको बताउनुभयो । उहाँका अनुसार पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पुरानो बानेश्वरदेखि चाबहिल, तिलगङ्गादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी प्रवेश निषेध गरिएको छ ।
त्यस्तै पुरानो बानेश्वर, भीमसेनगोला, सिनामङ्गल हुँदै तिलगङ्गासम्मको बाटोबाट पनि सवारी प्रवेश निषेध गरिएको छ । धोबीखोलातर्फ रातोपुल, कालोपुल, सिफलसम्म र चाबहिल, गौरीघाटलगायत क्षेत्रबाट पशुपति क्षेत्रभित्र सवारी प्रवेश निषेध गरिएको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो