मेयरकप फुटबल प्रतियोगिताका लागि चौरको संरचना मिलाउँदै गर्दाको तस्वीर । तस्वीर विजय गौतम नगर खेलकुद सदस्य

हेटौंडा ।  पाचौं संस्करणको हेटौंडा उपमहानगरपालिका मेयरकप फुटबल प्रतियोगिता आउँदो शनिबारबाट सुरु हुने भएको छ । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा मेयरकप फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता हेटौंडा–५,पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा हुने अयोजकले जानकारी दिएको छ । उपमहानगरपालिका भित्रका रहेका १९ वटा वडाका खेलाडीबीच प्रतिस्पर्धा गराउन, एक अर्काबीच भातृत्व सम्बन्ध कायम गराउन खेलको महत्वको बारे बुझाउन र फुटबल खेल प्रतिको रुचिलाई अभिवृद्धि गराउनका लागि प्रतियोगिताको आयोजना गर्न गर्न लागेको नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र प्रसाद घिमिरेले जानकारी दिएका छन् । प्रतियोगिताको खेलतालिका पनि छिट्टै सार्वजानिक गरिने छ ।

प्रतियोगिताको आयोजना गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले २० लाख रुपैयाँको बजेट विनियोजन गरेको अध्यक्ष रवीन्द्र प्रसाद घिमिरेले बताए । नगर खेलकुदले फुटबल खेलको विकास गर्नका लागि विगत ४ वर्षदेखि मेयरकप फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको अध्यक्ष घिमिरेले बताए । उनका अनुसार प्रतियोगितमा १९ वटा वडाका लागि खेलाडीहरुलाई सहभागी गराउनका लागि पत्रचार समेत गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष भने विजेता र उपविजेतालाई दिइने पुरस्कार राशिको रकम बढाइएको छ । नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका लागि पिप्ले–क्याम्पा रंगशालामा पनि मैदानको संरचना मिलाउने चौर मर्मत लगायतको काम गरिरहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि २० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गर्दा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकका लागि जनही १०÷१० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ । चौंथो संस्करणको मेयरकप फुटबल प्रतियोगिताको उपाधि भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ ले जितेको थियो ।