बिहीबारदेखि मनाइन सुरु भएको होली रौतहटमा शनिबाार पनि मनाइँदैछ। मुख्य गरी रौतहटको उत्तरी क्षेत्रमा बसोबास गर्ने पहाडी समुदायले बिहीबार होली मनाएका थिए भने मधेसी समुदायले शुक्रबार र शनिबार होली मनाउँदै छन्।

जिल्लाको अधिकांश भागमा शुक्रबार नै होली मनाइएको भए पनि केही भागमा शनिबार नै मूल होली मनाइँदै छ। जिल्लामा लगातार तिन दिन होली मनाउने क्रममा केही ठाउँमा झडप पनि भएको छ। कटहरिया नगरपालिका ९ डुमरियामा शुक्रबार राति होली मनाउने क्रममा झडप भएको हो।

होली मनाउने क्रममै दुई पक्षबीच झडप र ढुंगा हानाहान भएको छ। झडपमा केही मानिस घाइते भएका छन्। घाइते हुनेमा कटहरिया ९ डुमरियाका तिन जना रहेका छन्। स्थानीय राजकुमार यादव, महबुब मिया र जटाशंकर साह घाइते भएको प्रहरीको भनाइ छ।

यादव र मियालाई उपचारको लागि वीरगंज पठाइएको छ भने साहको उपचार गरुडामा भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि श्रीराम भन्डारीले जानकारी गराएका छन्। रौतहटमा राजनीतिक आस्थाको आधारमा समूहमा विभाजित भई होली खेल्ने चलनको विकास भइसकेको छ।

कटहरिया ९ डुमरियामा वडाध्यक्ष रामाज्ञा राय यादव र ओमप्रकाश साह गरी दुई पक्षमा होली भएकोमा झडप भएको हो। झडपकै क्रममा दुई राउन्ड गोली पनि चलेको छ। गोलीले कुनै क्षति भएको विवरण छैन। गोली कुन पक्षले चलाएको हो भन्ने यकिन हुन सकेको छैन।

घटनाको अनुसन्धानको क्रममा सोधपुछको लागि वडाध्यक्ष रामाज्ञा राय यादवसहित पाँच जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको जानकारी दिएको छ। यसैगरी रौतहटको गढीमाई नगरपालिकाको धर्मपुरमा पनि होली खेल्ने क्रममा दुई पक्षबीच झडप भएको खबर प्राप्त भएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो