हेटौंडा उपमहानगरपालिकाले यसै वर्षदेखि ल्याएको उच्च मावि कक्षा ११ र १२ लक्षित छात्रवृत्ति परीक्षा सम्बन्धी मापदण्डप्रति मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ ।
मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष प्रसिद्ध रेग्मीको हस्ताक्षर सहितको विज्ञप्ति पत्रमा छात्रवृत्ति परीक्षामा हेटौंडा भित्र रहेका स्थायी बासिन्दा वा बसाइँसराइ गरेका विद्यार्थीलाई मात्र आवेदन दिन पाउने व्यवस्था गरिनु शैक्षिक अवसरलाई सीमित गरेर ठूलो संख्यामा अध्ययनरत विद्यार्थीलाई प्रतिस्पर्धाबाट बाहिर राख्नु उचित नहुने पत्रमा उल्लेख गरिएको छ ।
विशेषगरी मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत हजारौं विद्यार्थीमध्ये उल्लेख्य संख्या अन्य जिल्लाबाट आएका विद्यार्थीहरूको रहेको सन्दर्भमा यो व्यवस्था प्रत्यक्ष रूपमा उनीहरूको अवसरमाथिको बन्देज गर्न खोजेको जस्तो देखिएको उल्लेख गर्दै परीक्षामा सफल हुने विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति सम्बन्धित शैक्षिक संस्थाबाट नै उपलब्ध गराइने व्यवस्था रहने तर ती संस्थामै अध्ययनरत विद्यार्थीहरूलाई स्थायी ठेगानाकै आधारमा आवेदन दिनबाट वञ्चित गरिनु न्यायोचित नदेखिने बताइएको छ।
जारी पत्रमा लेखिएको छ मकवानपुर बहुमुखी क्याम्पस केवल मकवानपुरका विद्यार्थीको मात्र नभई देशका विभिन्न जिल्लाबाट उच्च शिक्षा हासिल गर्न आउने विद्यार्थीहरूको साझा शैक्षिक केन्द्र हो। यहाँ अध्ययनरत सम्पूर्ण विद्यार्थी क्याम्पसका समान हैसियतका विद्यार्थी हुन्। तसर्थ, स्थायी ठेगानाको आधारमा अवसरको विभाजन गरिनु उचित, न्यायसंगत र विद्यार्थीमैत्री कदम हुन सक्दैन ।
स्ववियुको स्पष्ट धारणा छ कि विद्यार्थीको मूल्याङ्कन उसको क्षमता, योग्यता, शैक्षिक उपलब्धि तथा आवश्यकताको आधारमा हुनुपर्दछ, जन्मस्थान वा स्थायी बसोबासको आधारमा होइन। शिक्षा र छात्रवृत्तिको विषयलाई साँघुरो दायराभित्र सीमित गर्ने कार्यले भविष्यमा थप असमानता र विभेदलाई संस्थागत गर्ने खतरा रहन्छ ।
मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन स्ववियुले हेटौंडा उपमहानगरपालिकासँग सो छात्रवृत्ति परीक्षा सम्बन्धी मापदण्डको तत्काल पुनरावलोकन गरी सच्याउन र अध्ययनरत सम्पूर्ण योग्य विद्यार्थीलाई समान रूपमा प्रतिस्पर्धा गर्ने अवसर सुनिश्चित गर्न माग गरेको छ ।
पत्रमा उल्लेखित मागलाई बेवास्ता गरिएमा चरणवद्ध आन्दोलनको घोषणा गर्न बाध्य हुने अध्यक्ष प्रसिद्ध रेग्मीले बताएका छन् ।





















प्रतिक्रिया दिनुहोस्