हेटौंडा । छिमेकी मूलूक भारतस्थित सिक्किम राज्यको पाक्योङ जिल्लामा ८० औं इन्डिपेन्डेनस डे अर्थात स्वतन्त्र दिवसको अवसरमा हुने खुल्ला नकआउट फुटबल प्रतियोगितामा मकवानपुरको हेटौंडा फुटबल एकेडेमीका टोली सहभागी हुने भएका छन् । पाक्योङ र्स्पोट्स क्लबको आयोजनामा तथा जिल्ला प्रशासन केन्द्र पाक्योङको सहकार्यमा अगष्ट १ तारिखबाट स्वतन्त्र दिवसको अवसरमा आयोजित प्रतियोगिता सुरु हुन लागेको हो । स्वत वाइ पाएको हेटौंडा फुटबल एकेडेमीको टोलीले आफ्‌नो क्वार्टरफाइन चरणको पहिलो खेलमा अगष्ट ८ तारिखमा एस्टी जेभिएर्स विद्यालयसँग भिड्नुपर्नेछ ।

उक्त खेलमा जीत निकाल्न सकेमा हेटौंडा फुटबल एकेडेमीको टोलीले आफ्‌नो सेमीफाइनलको स्थान सुरक्षित गर्ने सिक्किमका स्थानीय फुटबल खेलाडी तथा प्रतियोगिता अवधिभरका टिम कप्तान छिरिङ लामाले जानकारी दिएका छन् । प्रतियोगिता पाक्योङ जिल्लास्थित एस्टी जेभिएर्स विद्यालयको खेलमैदानमा हुने उनले बताएका छन् । सिक्किममा खेलाडीहरुको मनोबल बढाउन, आफ्‌नो ठाउँको पहिचान बढाउनका लागि स्वतन्त्र दिवसको अवसरमा हरेक जिल्लाहरुमा फुटबल प्रतियोगिताहरु आयोजना हुने गरेको उनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले भारतीय ४ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले भारतीय २ लाख रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विभिन्न विधाहरुमा उत्कृष्ट तथा सर्वोत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । एकेडेमी मुनसोङ, नाम्ची जिल्लाको भाइचिङ्ग भुटियाको फुटबल प्रतियोगिता, पायोङ्ग जिल्लास्थित रम्फोको फुटबल प्रतियोगिता लगायत अन्य विभिन्न प्रतियोगितामा सहभागी हुनेछन् । गत वर्ष मुनसोङमा सम्पन्न भएको फाइनल खेलमा एकेडेमीले आर्दश युथ क्लब सिङताङलाई ४–१ गोलले हराउँदै उपाधि जितेको थियो ।