पोखरामा आईतबार भएको विमान दुर्घटनामा परेर मृत्यू भएकाहरुको शव आज आफन्तलाई बुझाईंदै छ। काठमाडौंबाट पोखरा आएको यती एयरलाईन्सको एटिआर विमान 9N-ANC  कलसाईन भएको जहाज दुर्घटना हुँदा ६८ जनाको मृत्यू भएको थियो। चालक दलका ४ जनासहित ७२ जना सवार सो जहाजमा रहेका ४ जना अझै बेपत्ता छन्। उनीहरुको खोजी जारी छ।

मृत्यू भएकामध्ये २१ जनाको शव पहिचान भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ। अस्पतालका अनुसार पोखराका ११ जनाको सनाखत भएको छ भने पर्वतका ५ जनाको पनि सनाखत भएको अस्पतालले बताएको छ। पोखराका सनताख हुनेहरुमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भई हाल काठमाडौं बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पोखरा २२ का रक्की गुरुङ, पोखरा ८ की एस्मिन गुरुङ, पोखरा बुद्धचोकका पूजन राना र पोखरा छोरेपाटनकी जीवनकला गुरुङ रहेका छन्।

त्यस्तै, पर्वतका सनाखत हुनेहरुमा कुश्मा–१ का १० वर्षका रियान पौडेल, पर्वत कुश्मा–९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धी, पर्वत मोदी १ का ३९ वर्षीय विजयकुमार गुरुङ, सोही ठाउँकी रचना काफ्ले पौडेल रहेका छन्।

यसैगरी, रुपन्देही शंकर ८ का डा. गणेश थापा, काठमांडौंकी नतु परियार, रीता परियार, हरि परियार, बुटवल मुर्गिया घर भएकी एअर होस्टेस सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको अस्पतालले जनाएको छ।

सनाखत भएकाहरुको आज आफन्तलाई शव हस्तान्तरण गरिने कास्की प्रहरीले जनाएको छ। सनाखत हुन नसकेकाहरुको शव पहिचानका लागि डिएनए परीक्षण गर्न काठमाडौं पठाईने पनि कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए

नागरिक न्युजबाट साभारछ ।