हेटौंडा । मकवानपुरकी पवित्रा विश्वकर्माको नेपाली काँग्रेसबाट समानुपातिक तर्फको सदस्यमा नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभा सदस्यका लागि काँगेसबाट महालक्ष्मी उपाध्याय डीनासँग समानुपातिकको कोटाबाट सर्मीला श्रेष्ठ र पवित्रा विश्वकर्माले उम्मेद्वारी दिएकी थिइन् । दुई जना मध्ये दलित कोटाबाट उम्मेद्वारी बनेकी पवित्रा विश्वकर्माको नाम समानुपातिकका लागि सिफारिस गरिएको हो । विश्वकर्मा दलित महिला संघ (फेडो) मकवानपुरकी अध्यक्ष पनि हुन् ।

नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले समानुपातिकबाट सांसद निर्वाचित गर्नका लागि १५ जना महिलासहित २० जनाको नाम सिफारिस गरिएको जानकारी दिएका छन् । उनका अनुसार अनुसार आयोगको ढाँचा र कानुन बमोजिम आइतबार बैठकले समानुपातिक निर्वाचनका लागि नाम सिफारिस गरिएको हो । काँग्रेसकी महाधिवेशन प्रतिनिधि विश्वकर्मासहित दलित कोटाबाट हरिनादेवी कामी र मानबहादुर नेपालीको नाम सिफारिस गरेको जनाइएको छ । उक्त सिफारिस कानून बमोजिम भएको नभएको परीक्षण गरेपछि निर्वाचन आयोगले सिफारिस भएकाहरुलाई निर्वाचन आयोगले निर्वाचित गराउने बताइएको छ ।

सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही र अर्जुननरसिंह केसीको कांग्रेसले खसआर्य कोटाबाट नाम सिफारिस गरेको छ भने आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी, भीष्मराज आङ्देम्बेको, मधेशी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव, चन्द्रमोहन यादव, थारू कोटाबाट प्रमिलाकुमारी गच्छदार तथा मुस्लिम कोटाबाट शाहजान खातुनको नाम सिफारिस गरिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी