योगी सद्गुरुद्वारा माटो जोगाउने उद्देश्यसहित सोमबार १०० दिवसीय यात्रा लण्डनको प्रतिष्ठित ट्रफालगर स्क्वायरबाट सुरु भएको छ। तत्काल माटोको विनाश रोक्ने र अहिलेको स्थितिलाई उल्टाउने उद्देश्यसहित सद्गुरुले जागरूक धरती अभियान सुरु गरेका हुन्।
ती हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गर्ने क्रममा, सद्गुरुले अर्को केही महिनामा बेलायत, युरोपेली मुलुकहरु, मध्य–पूर्वका राष्ट्रहरू र भारत गरी २७ राष्ट्रहरू भ्रमण गर्ने छन्। यस अवधिमा उनले विश्वका नेताहरू, नेतृत्वकर्ताहरू, मिडिया साथै विश्वभरिका प्रमुख विज्ञहरूसँग अन्तर्क्रिया गरी माटो जोगाउनको लागि तत्काल ठोस कार्य गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
मरुभूमिकरण सामना गर्न गठित संयुक्त राष्ट्रसङ्घको सम्मलेन (युएनसीसीडी)का अनुसार सन् २०५० सम्म पृथ्वीको ९० प्रतिशन माटो गुणस्तरहीन भई विश्वभरि ख्राद्य सङ्कट, पानीको अभाव, खडेरी र भोकमरी, विषम जलवायु परिवर्तन, विशाल स्तरमा स्थानान्तरण र अकल्पनीय दरमा प्रजातिहरू सखाप हुने जस्ता विपत्तिहरू निम्तिने छन्। यतिखेर मानवजातिका लागि ‘माटोको विनाश’ सबैभन्दा गम्भीर खतरा हो, किनकि द्रुत गतिमा माटोको गुणस्तर घट्दै गएकोले धरतीले अन्न उब्जाउने क्षमता निकै खस्किएको छ।
माटो जोगाऔँ’ अभियानले विभिन्न राष्ट्रहरूबाट नागरिक समर्थन जुटाउन र त्यसलाई प्रस्तुत गर्न खोजेको छ। साथै, यो अभियानले माटोलाई पुनः जीवन्त पार्न र माटोको विनाश रोक्नको लागि नीतिगत कार्यहरू शुरु गर्न विश्वभरिका सरकारहरूलाई सघाउने छ। यसको लागि, उक्त अभियानले ३.५ अर्ब मानिसहरूसम्म पुग्ने उद्देश्य लिएको छ- यो विश्वभरिका ६० प्रतिशत मतदाताहरूको सङ्ख्या हो।
गत साता ६ वटा क्यारिबियन राष्ट्रहरूले माटो जोगाऔँ अभियानको लागि प्रतिबद्धता जनाउँदै, जागरूक धरतीसँग सम्झौता पत्रमा हस्ताक्षर गरी ऐतिहासिक पाइला चालेका थिए।
यस अभियानलाई विश्वभरिका प्रतिष्ठित व्यक्तिहरूद्वारा समर्थन गरिएको छ, जस्तै कि चर्चित पर्यावरण संरक्षण विद् डा. जेन गुडल, श्रद्धेय दलाई लामा अनि विश्व आर्थिक मञ्चका कार्यकारी अध्यक्ष क्लाउस श्वाब। त्यसैगरी, मार्क बेनिअफ, दिपक चोपरा, टोनी रबिन्स, म्याठी हेडन, क्रिस गेयल, जुही चावला र सञ्जिव सन्याल लगायत थुप्रै ख्याति प्राप्त सेलिब्रिटी, कलाकार, खेलकुदकर्मी, प्रमुख व्यवसायी एवम् विविध क्षेत्रका विज्ञहरूले समेत यस अभियानलाई समर्थन गरेका छन्।यो समाचार गोरखापत्र बाट साभार गरिएके हो























प्रतिक्रिया दिनुहोस्