हेटौंडा फुटबल एकेडेमीको टिम ।

हेटौंडा । मकवानपुरको हेटौंडा फुटबल एकेडेमी बारा जिल्लाको करैयामाई गाउँपालिकामा जारी तेस्रो संस्करणको करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमीफाइनल खेलमा आयोजक नवजन प्रगति युवा क्लब करैयामाईलाई २–१ गोलले हराउँदै मकवानपुरको हेटौंडा फुटबल एकेडेमी सेमीफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफको खेलमा १–० गोल अन्तरले पछि परेको हेटौंडा फुटबल एकेडेमीले उत्कृष्ट पुनरागमन गर्दै आयोजक करैयामाई गाउँपालिकालाई पराजित गरेको हो ।

आयोजकको तर्फबाट पहिलो हाफको ४ मिनेटमा गोल गर्दै सुधन चौधरीले सुरुवात अग्रता दिलाएका थिए । पहिलो हाफको खेल सम्म १–० गोलले पछि परेर दवावमा रहेको हेटौंडा फुटबल एकेडेमीले भने सहजै दोस्रो हाफमा पुनरागमन गरेको हो । दोस्रो हाफमा हेटौंडा फुटबल एकेडेमीका लागि शक्तिमान थिङले गोल गर्दै जीत सुनिश्चित गरेका थिए । खेलको म्यान अफ द म्याच शक्तिमान थिङनै घोषित भएका छन् ।

गाउँपालिकामा रहेको ग्रामिण क्षेत्रमा रहेको स्थानमा फुटबल प्रतियोगितामा खेलकुदको विकास गर्न, युवाहरुलाई फुटबलमा आर्कषितसँगै र एक अर्काबीच भातृत्व कायम गर्न प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।

अब हेटौंडा फुटबल एकेडेमीले शुक्रबार फाइनल प्रवेशका लागि सेमीफाइनल चरणको खेलमा वकुलिया क्लबसँग प्रतिस्पर्धा गर्नुपर्ने प्रशिक्षक भीम लामाले बताएका छन् । प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ७५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । फाइनल खेल असार ७ गते हुनेछ ।

रातो समाचार संवाददाता
थप जानकारी