हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका जारी आठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको अन्तिम सेमीफाइनल खेलमा काठमाडौंको चित्लाङ एफसीले सिमराको नव जनगागृति युवा क्लबलाई ५–१ गोलले पराजित गरेसँगै फाइनलमा भिड्ने दुई टिमको टुंगो लागेको हो । बुधबार भएको पहिलो सेमीफाइनल खेलमा सर्लाहीको बागमती युथ क्लबले ललितपूरको फ्रेण्डस क्लबलाई टाइब्रेकरमा पराजित गरेको थियो ।

चित्लाङका लागि विदेशी खेलाडी सोलोमन किङ्गले ४३ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि एरोन थापा मगरले ७८ मिनेटमा र ८१ औं मिनेटमा गोल गर्दै ३–० गोल स्थितिमा पुर्याए । ३–० गोलको स्थितिले पछि परेका नवजन जागृति विरुद्ध चित्लाङ एफसीका समीर तामाङले ८३ मिनेटमा गोल गर्दै थप दवाबको स्थिति सिर्जना गरेका थिए । निकै गोल खाएर बढी दाव पाएको समयमा ८७ औं मिनेटमा पुन विदेशी खेलाडीले गोल गर्दै ५–० गोलको फराकिलो अन्तरको स्थिति सिर्जना गरेका थिए । दवाबमा परेको होडमा नवजन जागृतिका विक्रम लामाले गोल गर्दै केही सान्त्वना दिलाए ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।