गोरखा अस्पतालको नवनिर्मित साढे तीनतले भवनको मंगलवार उद्घाटन भएको छ। जर्मन सरकारको सहयोगमा करिब ३७ करोड लागतमा निर्माण भएको भवनको मंगलवार एक कार्यक्रमका बीच स्वास्थ्यमन्त्री बिरोध खतिवडा र जर्मनका राजदूत थोमस प्रिन्जले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

‘करारमा डाक्टर खोजेर भएपनि सबै जिल्लामा कम्तीमा एकजना डाक्टर पूरा समय दिने गरी राख्नेछौँ’ भवन उद्घाटन गर्दै मन्त्री खतिवडाले भने। गोरखा अस्पताललाई सुविधा सम्पन्न बनाउन त्यहाँ कार्यरत डाक्टरलाई टिकाउनुपर्ने, सेवा सुविधामा सबै तहको सरकारले सहयोग गर्नुपर्ने उनले बताए।

गोरखाका ११ मध्ये कुनै स्थानीय तहमा पाँचदेखि १५ बेडको अस्पताल बनाउने योजना स्वीकृत नभएको भए तत्काल अघि बढाउन स्वास्थ्य मन्त्री खतिवडाले अनुरोध गरे। ‘सरकारले हरेक वडामा स्वास्थ्यको कुनै न कुनै इकाई हुनुपर्छ भनेको छ,’ उनले भने, ‘इकाई नभएको भए भन्नुहोस् हामी मद्दत गर्छौँ।’ सरकारले हरेक प्रदेशमा तीनसय बेडको अस्पताल बनाउने योजना अघि बढाएको बताउँदै खतिवडाले भने, ‘अहिले जेष्ठ नागरिक अस्पताल बनाउने र बिस्तारै सबै नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिने योजना सरकारको छ।’ कोभिडपछि सरकारले स्वास्थ्य क्षेत्रलाई कुल बजेटको आठ प्रतिशत बिनियोजन गरेको उनले बताए।

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा अस्पताललाई अझै राम्रो र स्तरीय सेवा दिन सक्ने, विशेषज्ञ चिकित्सक टिक्ने वातावरण बनाउनुपर्ने उनले बताए।

गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री हरिशरण आचार्यले अस्पतालमा आइपर्ने खानेपानी, उर्जाका समस्या हल गर्न आफू तत्पर रहेको बताए। ‘उर्जाको बैकल्पिक ब्यवस्था अस्पताललाई आवश्यक पर्छ। त्यसका लागि तपाईहरु समन्वय गर्नुहोस म सहयोग गर्न तयार छु’ उनले भने।

कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधु अधिकारी गुरुङले भनिन्, ‘अस्पतालले दुर्गमका नागरिकलाई सेवा दिन अझै सक्षम हुनेछ,’ पूर्वाधारको हिसाबले बलियो हुँदै गएको गोरखा अस्पतालमा दक्ष जनशक्ति र उपकरण कम भएको र त्यसलाई थप गर्दै लैजाने उनले आश्वासन दिइन्। ‘यहाँ ब्लड वैंक पनि आवश्यक छ भन्नुभएको छ,’ उनले भने, ‘के सकिन्छ हामी समाधान गर्दै जानेछौँ।’

बिमामा धेरै जनालाई सहभागी गराउनुपर्ने, सेवा सहज रुपमा उपलब्ध गराउनुपर्ने, दुर्गम गाउँका जनतालाई स्वास्थ्य सेवाको उपलब्धता प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको मन्त्री अधिकारीले बताइन्।

जर्मनका राजदूत थोमस प्रिन्जले जर्मन सरकारले नेपाल सरकारलाई स्वास्थ्यको क्षेत्रमा ७० मिलियन युरो सहयोग गरेको बताउँदै भने, ‘गोरखा अस्पताल पनि यसैको एउटा सानो भाग हो।’ कोभिडका बेला पनि नेपाल सरकारलाई सहयोग गरेको उनले बताए। नेपालको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न जर्मन सरकारले निरन्तर सहयोग गर्दै आएको उनले स्मरण गराए।

कार्यक्रममा राष्ट्रिय सभाकी सांसद कमला पन्तले जिल्ला अस्पतालको स्वामित्व स्थानीय सरकारलाई दिने हो भने अझै सेवा प्रभावकारी हुन सक्ने बताइन्। साथै गोरखा अस्पताललाई नर्सिङ कलेजको मान्यता दिने हो भने दक्ष जनशक्ति तयार गर्न सकिने उनले बताइन्। ‘यहाँ विशेषज्ञ चिकित्सक छैनन्, उपकरण अभाव छ, त्यसलाई ब्यवस्थित गर्नतर्फ मन्त्रीज्यूहरुले ध्यान दिनुपर्छ’ उनले भनिन्।

स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले एनेस्थेसिया, अर्थोपेडिक, मेडिसियन विशेषज्ञ पठाउन भूमिका खेल्ने बताए। गोरखा अस्पतालमा अहिले यो दरबन्दी रिक्त रहेको बताउँदै उनले भने ‘बिमामा सबैलाई समेटेर सेवा दिनुपर्छ।’ अस्पतालमा लामो समयदेखि बिमाको पैसा निकासा नहुँदा समस्या भएको छ। ‘आगामी वर्ष तीन/तीन महिनामा निकासा हुने ब्यवस्था गर्नेछौँ,’ सचिव पोखरेलले भने। देशका सबै जिल्ला अस्पतालालाई ५० शैयाको बनाउने योजना रहेको उनले बताए।

गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले विशेषज्ञ चिकित्सक नहुँदा सेवा दिन समस्या भएको बताए। ‘नयाँ भवन  बनेपछि सेवा दिन सजिलो त भएको छ तर यहाँ जनशक्ति कम छ।’ ११ जना विशेषज्ञमा एक जना स्थायी छन् पाँच जना छात्रवृत्तिका छन् अन्य रिक्त छ।

२०७२ सालको भुकम्पछि पुनर्निर्माण भएको गोरखा अस्पतालको सुविधा सम्पन्न भवन बनेसँगै सेवा लिनेहरु बढेका छन्। चालु वर्ष साउनदेखि हालसम्म ३९ हजार जनाले सेवा लिएका छन्। गतवर्ष सेवा लिनेको संख्या ३० हजार मात्र रहेको अस्पतालका निमित्त मेसु श्रेष्ठले बताए। २०१९ सालमा १५ बेडबाट सेवा थालेको गोरखा अस्पताल २०६९ सालमा ५० शैयामा स्तरोन्नति भएको थियो।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सहजिकरण ब्यवस्थाप समितिका सदस्य श्रबणकुमार जोशीले गरेका थिए। सोही अवसरमा अस्पताल निर्माण कार्य समयमै सम्पन्न गर्ने लुम्बीनी बिल्डर्स लगायत बिभिन्न ब्यक्ति तथा संस्थाहरुलाई सम्मान पनि गरिएको थियो। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले नृत्य पनि प्रस्तुत गरेका थिए।यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो