मोरङको केराबारी गाउँपालिका– ७ र १० स्थित खदम खोलामा निर्माणाधीन झोलुंगे पुलका सामग्री चोरी गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा केराबारी– १० का १९ वर्षीय राहुल माझी, साबल परियार, २० वर्षीय रूपेश भुजेल तथा १८ वर्षमुनिका दुईजना गरी पाँचजना रहेको मोरङ प्रहरीले जनाएको छ। चोरी गरिएका सामग्री ओसारपसार गर्न प्रयोग गरिएको को २ ह ८२७६ नम्बरको अटोसहित उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
पक्राउ परेकामध्ये राहुल अटोका चालक हुन्। डिएसपी दाहालका अनुसार निर्माणाधीन झोलुंगे पुलका सामग्री विभिन्न समयमा चोरी भइरहेको निर्माण पक्षले जानकारी गराएका थिए। त्यसका आधारमा अनुसन्धान गर्दै जाँदा चोरी गरिएका सामान अटोमा लोड गर्दै गर्दा उनीहरू पक्राउ परेका हुन्। निर्माणस्थलबाट सामान चोरी गरेर करिब एक किलोमिटर टाढा रहेको कटेरोमा लुकाएर राख्न गरिएको भेटिएको हो। कटेरोबाट बिक्रीका लागि शुक्रबार राति अटोमा लोड गरेर लैजान लाग्दा सामानसहित उनीहरू पक्राउ परेको डिएसपी दाहालले बताए।
चोरी गरिएका सामग्री मोरङको सुन्दरहरैंचा नगरपालिका– १२ खोर्सानेको एक कबाडी पसलमा बिक्री गर्ने गरेको पाइएको हो। यसअघि पनि कबाडी पसलमा सामान बिक्री गरिएको खुलेको छ। पाँच लाख २० हजार रूपैयाँबराबरको सामग्री बरामद गरिएको हो।
नागरिक न्युजबाट साभार गरिएको छ ।





























प्रतिक्रिया दिनुहोस्