सिद्धान्तलाई बिट मारेर सत्ता प्राप्तीका लागी सुरु भएको निर्वाचनले संघार टेकेको छ। ‘लाहुरे भन्दा गुन्टा उफ्रिने’ उखान जस्तै टोल टोलमा कार्यकर्ताको बिगबिगी छ। निरन्तर स्थानीय स्तरमा काम गरिरहेका कार्यकर्ता भन्दा पनि हिजोआज ‘टुरिष्ट नेता/कार्यकर्ता’ अ‘चेत’ सँगै व्यस्त भएको मञ्चन गरिरहेका भेटिन्छन्। मतदातालाई विगतमा जस्तो ललिपप देखाउने ठाउँ समेत नभएका कारण उम्मेदवारहरु ‘नमस्कार र चुनाव चिन्हका’ भरमा मत माग्दैछन्।
गाउँमा समस्याका चाङ उस्तै छन्। भर्खरैको अबिरल बर्षातले सडक अवरुद्ध भएका कारण स्थानीयहरु उपचारलाई अस्पताल सम्म पुग्न सकेका छैनन्। तर नेता कार्यकर्ताको आँखामा चुनाव चिन्ह बाहेक अरु केहि पर्न सकेको छैन। निर्वाचनको सुन्दर वस्तु घोषणापत्र समेत नबोकेका उम्मेदवारहरुले जिते पछि के गर्छन् कार्यकर्तालाई समेत थाहा छैन। अस्पतालमा निशुल्क स्वास्थ्य विमाको औषधि समेत छैन्। रोजगारी एकादेशको कथा जस्तै छ तर चुनाब आफूले जित्नै पर्छ।
काँग्रेस रोल्पाका सचिब शेरबहादुर थापा पनि घोषणापत्र अन्तिम तयारीमा रहेको बताउँछन्। ‘गठबन्धनको संयुक्त घोषणापत्र आउँदै छ। अहिले सम्म चुनाव चिन्हका भरमा मौखिक भोट मागिएको छ।’ उनी जस्तै नेकपा माओवादी केन्द्र रोल्पाका प्रमुख गुणेन्द्र घर्ती घोषणा पत्रको तयारी हुँदै गरेको बताउँछन्। ‘अब केहि दिनमा तयार हुन्छ। हाल सम्म त्यत्तिकै त माग्दै छौ।’
शिक्षाको कुरै नगरौं अस्तव्यस्त छ। तर यो बिषयमा कहिल्यै नबोल्ने दलका नेतृत्व जस्तै कार्यकर्ताहरु समेत यतिबेला आफ्ना उम्मेदवारलाई जिताउन मरिहत्ते गरेर लागेका छन्। न योजना न त ईमानदारिता देखिन्छ। नमस्कार र हुलहुज्जतका भरमा जितिने निर्वाचनले अन्नत कसैका लागि भलो गर्न नसकेको उदाहरण ईतिहासले देखाएको छ।
रोल्पाका एमाले जिल्ला अध्यक्ष बालाराम बुढाले घोषणापत्र केन्द्रले बनाउने बताउँदै भने ‘घोषणा पत्र आउँदै छ भने उम्मेदवारको प्रतिबद्धता पत्र तयार हँुदैछ।’ माओवादी पोलिटब्युरो सदस्य बाट राजिनामा दिएर स्वतन्त्र उमेद्वार बनेका दिपेन्द्र कुमार पुन घोषणापत्रका आधारमा अहिले सम्म कसैले काम नगरेको बताउँछन्। ‘अहिले सम्म केहि बनाएको छैन। उम्मेदवारका रुपमा भोट मागिरहेको छु।’
राजनीतिक चेत उठेको समाज भनिए पनि जनजीबिकामा परिवर्तन शून्य प्राय छ। नयाँ गर्छौ, आधारभूत कुराहरु सहज उपलब्ध गराउँछौं भन्ने राजनीतिक नेतृत्व भित्र सोचे जस्तो गर्न नसकेका कारण लज्जा बोध छ। उम्मेदवारका प्रतिपक्षले भने जस्तो यदाकदा पैसा वा भौतिक वस्तु वितरणका अपुष्ट खबर आउने गरेको भए पनि पुष्टि हुन सकेको छैन।
उम्मेदवारहरुले ‘नमस्कार र चुनाव चिन्हका’ भरमा भोट माग्दै गरेको रोल्पामा मात्र नभएर देशै भरिको समस्या हो। अपवित्र तथा राजनीतिक आस्थालाई खल्तीमा राखेर गरिएको चुनावी गठबन्धनका कारण पनि मतदातामा उत्साह र उल्लास छैन। गाउँका चौतारीमा हुने छलफलमा एकथरि भन्छ ‘कांग्रेसले कसरी हसिया हतौडामा भोट हाल्ला अनि माओवादीले कसरी रुखमा भोट हाल्ला?’ अर्को थरिले थप्छ ‘सुर्य र हलो पनि त फरक धार हुन्। उनीहरुले पनि त कसरी हाल्लान् ?’ सडक खन्ने डोजर हेर्न जानेहरु पनि यतिबेला चुनाव चर्चामै देखिन्छन्।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो























प्रतिक्रिया दिनुहोस्