सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग गर्दा उपयुक्त नहुने बताएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनबारे सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
मतदानपछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारी साधनमा मतपत्र ल्याएको कारणले आफूहरु हार्नुपरेको आरोप लाग्ने गरेको भन्दै सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको सवारीसाधन प्रयोग नगर्न सुझाव दिए।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निर्वाचनमा अन्त्यन्तै संवेदनशील भएर सुरक्षाकर्मीहरु परिचालन गर्नुपर्ने पनि स्पष्ट पारे। निर्वाचनमा एउटा समूहको गल्तीका कारण त्यसको पूर्ण प्रणालीमा असर पर्ने भएकाले सुरक्षाकर्मी परिचालनमा विशेष ध्यान दिन आग्रह गरे।
बैठकमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले अस्थायी मतदान केन्द्रमा परिचालित हुने सुरक्षाकर्मीबारे आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए। उनले निर्वाचनको मौन अवधिमा शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन स्थानीय राजनीतिक दलहरुसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उल्लेख गरे। प्रहरी अतिरिक्त महानिरीक्षक लोहनीले निर्वाचनको मौन अवधिमा झडप हुनसक्ने भन्दै आवश्यत्र ध्यान दिन आग्रह गरे
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो




















प्रतिक्रिया दिनुहोस्