- सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको ४९ किलोमिटर महुरे–फोक्सिङटार सडक कालोपत्रको काम अलपत्र परेको छ । यो दिक्तेलबाट तराई जिल्ला जोड्ने अहिलेसम्मको सबैभन्दा छोटो मार्ग हो । ठेकेदार कम्पनीको लापरवाहीका कारण कालोपत्रको काम अलपत्र परेको छ । महुरेदेखि राजापानीको सिम्पानीसम्मको २२ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा भारत कन्स्ट्रक्सन सिद्धि शाही जेभीलाई दिइएको छ । त्यसैगरी सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटारसम्मको २७ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा देवनारायण पवन मैनाचुली खम्पाछे जेभीलाई दिइएको थियो । कालोपत्र गरेर सडक विभागलाई हस्तान्तरण गर्नुपर्ने सडक अहिले खाल्डाखुल्डी र हिलोका कारण अवरुद्ध भएको छ । भारत कन्स्ट्रक्सन सिद्धि शाही जेभीलाई २०७२ साउन २०२० भित्र काम सम्पन्न गर्ने ठेक्का दिइएको थियो ।ठेक्का सकिन लामो समय बितिसक्दा पनि सडक कालोपत्रको काम अलपत्र पर्दा जिल्लावासी समस्यामा परेका छन् । सडक खण्डको हालसम्म ३५ प्रतिशत मात्रै प्रगति भएको जनाइएको छ । त्यसैगरी सिम्पानी भञ्ज्याङ–फोक्सिङटार सडकखण्डको कालोपत्रको काम ५९ प्रतिशत मात्रै भएको छ । यस सम्बन्धमा देवनारायण पवन मैनाचुली खम्पाछे जेभीसँग २६ जुलाई २०२० भित्र कालोपत्र गर्ने सम्झौता भएको थियो। तराईका जिल्लाबाट दैनिक अत्यावश्यक वस्तु तथा निर्माण सामग्री ढुवानीका लागि प्रयोग हुने सडक गत चैत मसान्तदेखि कालोपत्र गर्ने काममा कुनै प्रगति हुन सकेको छैन । —रासस






















प्रतिक्रिया दिनुहोस्