चितवनको राप्ती नगरपालिका र खैरहनी नगरपालिकामा विद्युतको हाईटेन्सन लाईन बस्तीबाट लैजान खाल्डो खन्न सुरु गरेपछि समस्या परेको छ ।

राप्तीको वडा नम्बर ६ र १० तथा खैरहनीको वडा नम्ब ६–७–९ र १० मा रहेका बस्तीहरु हाईटेन्सनको मारमा पर्ने स्थानीयहरुले बताएका छन्।

विद्युत प्राधिकरण र स्थानीय तहले विद्युतको हाईटेन्सन लाईन बस्तीबाट लैजान खाल्डो खन्न सुरु गरेपछि करिब ४ हजार घरधुरी समस्यामा परेको हर्दि–चैनपुर हाइटेन्सन संघर्ष समितिले जनाएको छ ।

सोमबार हेटौंडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक केशवराज भट्टराईले वैकल्पिक राजमार्ग हुँदाहुँदै पनि हाईटेन्सनलाई बस्तीको बिच भागबाट लैजान पोलको लागि खाल्डो खन्दा पनि केही जनप्रतिनिधिहरुले चासो नदिएको बताए ।

यस विषयमा राप्ती नगरपालिका र खैरहनी नगरपालिका दुबै नगरपालिकाका जनप्रतिनिधिहरुसँग हाईटेन्सनले निम्त्याउने समस्याको अनुनय गर्दा पनि कुराकानीमा चासो नदिएको र कर्मचारीसँगमात्र छलफल गरेको संयोजक भट्टराईले बताए ।

चितवनको हर्दिबाट चैनपुरसम्मको करिब ७.५ किलोमिटर बस्तीमा ३ महिनाबाट खाल्डो खन्न सुरु भएको बताउँदै हाईटेन्सन बस्तीबाट नलैजान अनुरोध गर्दै वैकल्पिक बाटोहरु देखाउँदै अनुरोध गरेको उनले सुनाए ।

कार्यक्रममा समितिका सदस्य नवराज फुँयालले हाईटेन्सनका कारण लगभग १५ हजार स्थानीयहरु ठुलो संकटमा परेकाले टाईटेन्सन बस्तीबाट लैजान हुँदैन भनेर संघर्ष समिति गठन गरि विरोध गरेपछि हाल काम रोकिएको बताए ।

आफुहरु विकास विरोधी नभएको र विकल्प प्रयोग गरि हाइटेन्सन लैजान अनुरोधसहित बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे समक्ष आफुहरु पुगेर ध्यानाकर्षण पत्र बुझाएको बताए ।

बस्ती बिचबाट हाईटेन्सन लैजाँदा सो क्षेत्रका घरहरुलाई बैंकले ऋण नदिने र कुनै कार्यमा लगानी गर्न नमान्ने लगायतको समस्या भोग्नुपर्ने उल्लेख गर्दै गर्दा सोमबार नै मुख्यमन्त्री पाण्डले हाईटेन्सनको अध्ययन गरि वैकल्पिक मार्गतर्फ ध्यान गरिने भन्दै आश्वासन दिएको बताए ।