उपाधि जितेपछि खिचिएको सामूहिक तस्बीर ।

हेटौंडा । हेटौंडा–८,कमानेस्थित कमाने क्रिकेट क्लबले आयोजना गरेको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि कमाने एक्सपर्ट भिजन ११ ले जितेको छ । शनिबार हेटौंडा–८,स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा भएको फाइनल खेलमा कमाने एक्सपर्ट भिजन–११ ले कमाने राइडर्सलाई ३ विकेटले हराएको छ ।

टस हारेर पहिलो व्याटिङको निम्तो पाएको कमाने राइडर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै कमाने एक्सपर्ट भिजनलाई १ सय ५४ बनाउने लक्ष्य दिएको थियो । कमाने राइडर्सका लागि १८ बलमा सुखेन्दु समन्थले ३५ रन बनाएको थियो । राम नरेश गिरीले १६ बलमा २९ रन र काशपल अधिकारीले ३५ बलमा २७ रन बनाएका थिए । कमाने एक्सपर्ट भिजनबाट बलिङतर्फ सागर मगरले सर्वाधिक ३ विकेट लिएका थिए । सुजित पटेलले २ विकेट लिएका थिए ।

१ सय ५४ रनको लक्ष्य पछ्याएको कमाने एक्सपर्ट भिजनले १९ ओभर १ बलमा ७ विकेटको क्षतिमा १ सय ५७ रन बनाउँदै विजेता बन्न सफल भएको थियो । असीम श्रेष्ठले ३६ बलमा ६० रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए । सुजित पटेलले १९ बलमा ४० रनमा र इरफान अलिले २० बलमा २७ रनको मात्र योग्दान दिन सकेका थिए । बलिङतर्फ कमाने राइडर्सबाट प्रविन घिमिरेले सर्वाधिक ३ विकेट लिएका थिए । यस्तै विपुल खनालले २ विकेट लिए भने विष्णु राउतले १ विकेट मात्र लिएका थिए । खेलको म्यान अफ द म्याच विष्णु राउतनै घोषित भएका छन् ।

प्रतियोगिताको उपाधि विजेता कमाने एक्सपर्ट भिजनले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता कमाने राइडर्सले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी विष्णु राउत, उत्कृष्ट ब्याट्स म्यान संजीव थापा, उत्कृष्ट ब्लर सागर मगर र इमर्जिङ प्लेयर दिप्सन चौलागाईं घोषित भएका छन् । उनीहरुलाई जनही ५÷५ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको छ ।

कमाने प्रिमियर लिगका खेल संयोजक विष्णु दहालको सभाध्यक्षमा तथा हेटौंडा–८ का वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण गरिएको थियो । समापन समारोहमा मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करन महतरा क्षेत्री, सचिव विनोदकुमार बानियाँ, सदस्य संजोक पोखरेल, आयोजक समितिका अध्यक्ष किशोर खत्री, कमाने फुटबल एकेडेमीका अध्यक्ष रमेश थापा लगायको उपस्थिति रहेको थियो ।

लिगको ५ खेल खेलेर ४ जीत निकाल्दै लिगको विजेता बन्दै कमाने एक्सपर्ट भिजनले फाइनलको यात्रा पुरा गरेको थियो भने लिगको ५ खेल खेलेर ४ जीत निकालेको कमाने राइडर्स लिगको उपविजेता बन्दै फाइनलको यात्रा पुरा गरेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी