हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोला पुल नजिक भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।बिहीबार राति करिब १ बजे सर्लाहीबाट काठमाडौं तर्फ जाँदै गरेको म.प्र.०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड गरिएको बोलेरो पिकअप ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब ५/७ मिटर तल खोल्सामा खसि दुर्घटना भएको हो ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी खानिखेत, मकवानपुरबाट प्रहरी सहायक निरीक्षक मनोज चौधरीको कमाण्डमा ट्राफिक सहित ३ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । बोलेरोमा चालकसहित ३ जना सवार थिए। दुर्घटनामा परेर सर्लाही जिल्ला बरथवा नगरपालिका–१ निवासी अन्दाजी १७ वर्षीय रोहन मण्डलको टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।
त्यस्तै, सोही स्थानका अन्दाजी १६ वर्षीय छोटे पासवानको कम्मरमा चोट लागी अवस्था मध्यम रहेको र अन्दाजी २५ वर्षीय चालक रामवली साह सामान्य घाइते भएका थिए ।प्रहरीले तीनै जनाको उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि काठमाण्डौ पठाएको थियो । उपचारकै क्रममा गम्भीर घाइते रोहन मण्डलको काठमाण्डौ मेडिकल कलेजमा बिहान ४:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाग्रस्त बोलेरोमा लोड गरिएको ५०० कुखुरामध्ये करिब ३०० कुखुरा मरेका छन् भने गाडीमा समेत क्षति पुगेको छ। दुर्घटनाग्रस्त गाडी हाल घटनास्थलमै रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनास्थल प्रहरी चौकी खानिखेतबाट करिब ४ किलोमिटर पश्चिम पर्ने बताइएको छ ।

















प्रतिक्रिया दिनुहोस्