हेटौंडा । सूर्यविनायक नगरपालिकामा फुटबल रंगशाला निर्माणका लागि सौद्धान्तिक सहमति भएको छ । नयाँ तथा आधुनिक फुटबल रंगशाला निर्माण गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रस्ताव अनुसार सैद्धान्तिक सहमति भएको हो । बुधबार नगरपालिका प्रमुख बासु थापाले फुटबल रंगशाला निर्माणको सिफारिसपत्र एन्फा महासचिव किरण राईलाई हस्तान्तरण गरेका छन् ।

नेपाल सरकारको प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सूर्यविनायक नगरपालिका वडा नम्बर–८,स्थित करिब २ सय रोपनी जग्गा रंगशाला निर्माणका लागि उपल्बध गराइने एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिएका छन् । नगरपालिकाले रंगशाला निर्माणको विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेपा)लाई सिफारिस गरेको अध्यक्षले पंकजले बताए ।

एन्फाका अध्यक्ष पंकजको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले नयाँ तथा आधुनिक रंगशाला निर्माण गर्ने निर्णय गरेको थियो । जस अन्तर्गत पंकजको नेतृत्वको समूहले प्रधानमन्त्री केपी ओलीलाई रंगशाला निर्माणका लागि बारम्बार भेटघाट गरेर अनुरोध गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ रंगशाला निर्माणमा चासो देखाएर सार्वजनिक रूपमा झण्डै ५०,००० दर्शक क्षमताको रंगशला निर्माणको घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीको पहलसँगै रंगशाला निर्माणका लागि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको संस्थागत समन्वय,सहयोगमा र एन्फाको प्रस्तावमा नगरपालिकाले सहमति जनाएको हो । निर्माण गरिने रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आधुनिक फुटबल स्टेडियमको रूपमा विकास गर्ने योजना बनाइएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी