बागमती प्रदेशको राजधानी हेटौंडामा आज चैत २ गतेदेखि प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी सूरु भएको छ ।
हेटौंडा–२ स्थित पल्पसा सदनमा मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिद्धारा आयोजित प्रदेशस्तरीय महिला उद्यमी प्रर्दशनी ६ गतेसम्म हुने छ ।
समितिको आयोजनामा ११ वर्षपछि “पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला प्रदर्शनीले मकवानपुर जिल्ला भित्रको उत्पादनको विकासमा केही टेवा पुग्ने आयोजकले जनाएको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रदर्शनीको उद्धघाटन गर्दे महिलाहरुलाई सामाजिक रुपमा अघि बढन चुनौति रहेको अवस्थामा यस्तो कार्य निकै उत्साहजनक भएको बताइन् ।
उनले बागमती प्रदेश सरकारले उद्यमशीलतालाई जोडदिन, दक्ष जनशक्ति निर्माण गर्न र महिला उद्यमी लक्षित कार्यक्रमहरु गर्न योजना बनाएको बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद एकालाल श्रेष्ठ, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रिनाथ शर्मा, हेटौंडा–११ का वडा अध्यक्ष जुना दहाल, महिला उद्यमी विकास समितिका सभापति अंकिता सुमार्गी लगायतले मन्तव्य राखेका थिए ।

प्रदर्शनीका लागि मकवानपुर, सिन्धुली, चितवन, काठमाडौँ, नुवाकोट र ईटहरीका उद्यमीहरुले स्टल बुकिङ गरेका छन् ।
प्रदर्शनी समय अवधीभर महिला उद्यमीहरुको बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री, स्थानीय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक प्रस्तुति र कृषि सम्बन्धी खुल्ला अन्तक्रिया कार्यक्रम हुने जनाएइको हो ।

प्रदर्शनी आयोजनाको लागि बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य,भूमि तथा प्रशासन मन्त्रालय,कृषि तथा पशुपञ्छी विकास मन्त्रालय, हेटौंडा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, मकवानपुरका स्थानियतह लगायतको सहकार्य रहेको छ ।