मकवानपुर प्रहरीले ४२ तोला सुनसहित २ जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगर –१५ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रातोमाटे चेकपोष्टबाट जिल्ला प्रहरी मकवानपुरको नेतृत्वमा खटिएको प्रहरी टोलीले ४२ तोला सुनसहित २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत अमृतसार पंजाबका ३४ वर्षीय तर्सिम सिंह र धनुषाको सबेला नगरपालिका–२ का ३९ वर्षीय हितेश कुमार शाह रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ६२१७ नम्बरको र बागमती प्रदेश ०३–००१ख १७२७ नम्बरको बसमा छुट्टाछुट्टै सवार गरी आएका तर्सिम र हितेशको साथबाट अवैध तरिकाले ल्याएको सुन फेला पारेको हो ।

दुवैको साथबाट ४ सय ८० ग्राम ०.८३ मिलिग्राम ४९ लाख २२ हजार ६ सय २५ रुपैयाँको अवैध सुन रहेको छ ।

बरामद गरिएको सुनसहित तर्सिम र हितेशलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।