बिमल खत्री  – बागमती प्रदेशको राजधानी हेटौडामा दोस्रो अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता हुने भएको छ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजना र मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा फुटबल प्रतियोगिता हुने भएको हो । यही चैत्र ४ देखि ११ गतेसम्म हेटौंडा वडा नम्बर ५ स्थित पिप्ले क्याम्पा रंगशालामा दोस्रो अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको आयोजकले जनाएको छ ।

बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तान द्धारा उद्घाटन गरिने र मकवानपुरका १० वटै स्थानीय तहको सहभागिता रहने गरि तयारी पूरा भएको जानकारी गराईएको हो ।

आयोजकले जनाए अनुसार उक्त प्रतियोगितामा यस प्रतियोगिताका लागि ९ लाख ३३ हजार ८५० रुपैयाँ खर्च हुने अनुमान छ ।

मकवानपुरमा रहेका स्थानीय तहको बीचमा सुमधर सम्बन्ध स्थापना एवम् फुटबलको विकासका निम्ति प्रतियोगिता आयोजना हुँदै आएको प्रतियोगिताका लागि जिल्ला समन्वय समिति मकवानपुरले नगद ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष भेष खड्कीले जानकारी दिए ।

उनले उक्त प्रतियोगितामा विजेताले २ लाख र उपविजेताले एकलाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।

अध्यक्ष भेष खड्कीले बताए अनुसार सर्वोत्कृष्ट खेलाडीलाई नगद १० तथा सर्वाधिक गोलकर्तासहित अन्य विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयासहित ट्रफी पाउने छन् ।

जिल्ला समन्वय समितिले उपलब्ध गराउने बाहेकको रकम जिल्ला खेलकुद विकास समिति मकवानपुरले व्यवस्थापन गर्ने र प्रत्येक पालिकाबाट एक, एक जना प्रशिक्षक र व्यवस्थापक सहित १८ जना खेलाडीको सहभागिता रहनेछ ।

यस प्रतियोगिताको पहिलो संस्करणमा हेटौंडा उपमहानगरपालिकालाई हराउँदै थाहा नगरपालिकाले उपाधि जितेको थियो ।
उद्घाटन खेल कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकाको बीचमा हुनेछ ।