सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनका लागि निर्वाचन प्रक्रियाका लागि पहिलो चरणको तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले मङ्सिर २४ गते काठमाडौंमा उद्घाटन हुनुअघि मंसिर २३ गतेसम्म देशैभरका वडा, गाउँ÷नगर, जिल्ला र प्रदेश अधिवेशनको विवरण आइसक्ने बताउनुभयो ।

‘एक सय ६० वटा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेशमा लागि प्रदेशस्तरीय निर्वाचन आयोगले लगातार काम गरिरहेको छ’, घिमिरेले भन्नुभयो, ‘सर्लाही र महोत्तरीमा निर्वाचन प्रक्रियाको कोसिस जारी छ, प्रदेश २ को अधिवेशनका लागि केन्द्रीय महाधिवेशन पछाडि निर्णय लिन्छौं । हामी महाधिवेशनको एकदम नजिक छौं ।’ अहिले मनोनयन पत्र, मतपत्र कस्तो बनाउने भन्ने विषयमा समितिमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

यसैगरी, उहाँले राष्ट्रिय सभा गृह, भृकुटीमण्डप र उद्घाटनस्थलमा गरेर तीन ठाउँमा मतदानस्थल रहने बताउनुभयो । उद्घाटनस्थलमा भने कार्यक्रम समापन पश्चात् मतदानस्थल निर्माण हुनेछ । मतदानका लागि मतपत्र र विद्युतीय मेसिन दुवै प्रक्रियाका लागि केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको उहाँको भनाइ छ ।

मङ्सिर २४ गते काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन भएपछि मङ्सिर २५ गते मनोनयन दर्ता हुनेछ ।

 

समाचार गोरखा पत्रमा छ ।