मकवानपुरको बकैया गाउँपालिकामा २ दिने साहित्य महोत्सव हुने भएको छ ।
झरना साहित्यिक मकवानपुरले फागुन २७ र २८ गते वृहत बकैया कला–साहित्य महोत्सव–२०७८ गर्ने भएको हो ।

सोमबार सम्मेलनको आयोजना गरि बकैया गाउँपालिकाको आर्थिक सहयोगमा बकैया–३, हात्तीसुँडेस्थित बुद्ध माविको प्राङ्गण र बकैया गाउँपालिकाको सभाहलमा साहित्य महोत्सव गर्ने जानकारी गराइएको हो ।
२०५० साल फागुन १२ गतेदेखि छतिवनमा जन्मेको परिवारले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा बृहत् साहित्य गोष्ठी आयोजना गर्दै आएको सचिव मसान उपासकले बताए ।

छिमेकी जिल्लाका कलाकारको विशेष प्रस्तुति सहितको दुई दिने महोत्सवमा साहित्य रचना वाचन गरिने र स्थानीय कला संस्कृतिको जगेर्नाका लागि खैँजडी भजन, तामाङ, माझी, राई लगायतका जनजातिका कला संस्कृतिको समेत प्रस्तुति रहने बताए ।

त्यस्तेगरि पुस्तक प्रदर्शनी, बहसमूलक कार्यक्रम र कार्यपत्र प्रस्तुतिसमेत गरिने संस्थाका सचिव मसान उपासकले बताका छन् ।

पछिल्लो समयमा २०७६ देखि बकैया साहित्य महोत्सव आयोजना गर्दै आइरहेको र यसै वर्षबाट स्थानीय कलासंस्कृतिको समेत जगेर्ना गर्ने उद्देश्यले बकैया कला–साहित्य महोत्सव गरिन लागेको झरनाका अध्यक्ष दिपक गौतमले बताए ।

महोत्सवमा देशभरबाट करिब ५० जना साहित्यकार,गायक र बकैया गाउँपालिकाका राजनीतिक सामाजिक अगुवासहित करिब ५सय जनाको उपस्थिति रहने अपेक्षा गरिएको गौतमले बताए ।

महोत्सवका क्रममा साहित्यकार, साहित्यसेवी, कलाकार, नवप्रतिभा तथा संस्था लगायतलाई लाई विभिन्न पुरस्कारबाट सम्मान समेत गरिने छ ।