बागलुङ नगरपालिका-१० भकुण्डभस्थित स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। निर्माण थालेको सात वर्ष बित्दा पनि भवन अधूरै छ।

२०७२ साल कात्तिकमा रछिना एण्ड कन्स्ट्रक्सन प्रालिले १८ महिनामा सक्ने गरी भवन निर्माणको जिम्मा लिएको थियो। अहिले वर्षौं पुरानो जीर्ण भवनबाट सेवा प्रवाह हुँदै आएको छ। पटक-पटक म्याद थप गर्दा पनि भवन बनाउन नसकेको सघन शहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर योगेन्द्र बस्ताकोटीले बताए। निर्माण कम्पनीले हालसम्म ९० प्रतिशत काम सकेको छ।

कार्यालयले केही दिन अगाडि ठेक्का तोड्न सूचना प्रकाशन गरेको र निर्माण कम्पनीले माघ महिनाभित्रै काम सक्ने भन्दै पत्र पठाएको बस्ताकोटीले बताए। ‘ठेक्का तोड्ने या काममा लगाउने भन्ने विषयमा निर्णय भएको छैन’, उनले भने।

भवनको लागत एक करोड ७० लाख ४८ हजार रुपैयाँ रहेको छ। स्वास्थ्यचौकी प्रमुख उमेश सर्बुजाले समयमै भवन नबन्दा पुरानो साँघुरो भवनबाट सेवा प्रवाह गर्नुपरेको गुनासो पोखे।

एउटै भवनबाट बर्थिङ सेन्टर, खोप, बिरामी जाँच्ने लगायत काम गरिंदै आएको छ। ‘पुरानो भवनमा पर्याप्त कोठा छैनन्, एकै पटक धेरै बिरामी आए  कहाँ जाँच्ने, कहाँ खोप लगाउने र कहाँ प्रसूति गराउने भन्ने समस्या हुन्छ’, उनले भने।

नागरिक न्युजबाट साभार छ ।