सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल आज विश्वासको मत लिने तयारीमा छन्। बिहिबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने कार्यक्रम छ। बुधबार विश्वासको मत लिने कार्यक्रम भएपनि सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मत नदिने अडान कायमै राखेपछि अन्तिम समयमा बैठक स्थगित भएको थियो।

सरकार बनाउँदा समर्थन गरेको नाउपाले थुनामा रहेका रेशम चौधरी र भर्खरै पक्राउ परेका सांसद् अरूण चौधरीलाई रिहाइ गर्ने ग्यारेन्टी नभएसम्म सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

नाउपाले समर्थन फिर्ता लिए सरकार स्वतः अल्पमतमा पर्ने छ। गत पुस २७ गते नियुक्त भएका मुख्यमन्त्री रावलले संविधानतः माघ २६ गते (आज) विश्वासको मत लिनुपर्नेछ। आज विश्वासको मत लिन नसके मुख्यमन्त्री रावलको पद गुम्ने छ भने प्रदेश प्रमुखले अर्को सरकार बनाउनको लागि पुनः आह्वान गर्नेछन्।

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नगारिक उन्मुक्तिका ७ र राप्रपाका १ गरेर २९ सदस्यको समर्थन जुटाएर रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए।