नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्शा गायब गरेको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार काठमाडौंमा नव निर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन्। उनले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्याउने काममा गठबन्धन लागिरहेको पनि बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरु भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायब बनाइएको बताए। उनले वतएमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्शाको बारेमा कुनै वाक्य बोल्न नसकेको बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरुका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको बताए।
उनले अहिलेको गठबन्धन सरकारले सीमापारीबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाए। उनले गठबन्धन सरकारले संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको भन्दै खेद प्रकट गरे।
उनले अहिलेको नागरिकता विधेयक राष्ट्रिय हीत, स्वाभिमान विपरित रहेको उल्लेख गर्दै नेपाललाई सिक्किम वा फिजी बनाउने कुरामा सरकारले काम गरिरहेको बताए। उनले सत्ता टिकाउने, सरकारमा बस्ने, प्रधानमन्त्री र मन्त्री हुनका लागि घृणित कामहरु गरिरहेको भन्दै निन्दा र भत्र्सना गर्नुपर्ने बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दाबी गरे। उनले राष्ट्रिय विकास र समृद्धिको योजनमा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्ने काम नगर्ने बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलले नक्कली कुरा गरेर सत्ता स्वार्थमा डुब्न नचाहने पनि बताए। उनले रणनीतिक महत्वका सडकहरु केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको भन्दै अहिलेको सरकारले किन कटौती गरेको भन्ने प्रश्न गरे।
उनले चुच्चे नक्शा मेटाइ अपराधपूर्ण काम गर्ने कोही व्यक्तिलाई पनि स्वीकार गर्न नसकिने बताए। मुलुकमा राजनीतिक स्थायित्व नभए आर्थिक विकास र समृद्धि हुन नसक्ने बताए।वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताका हकहीत, विकास निर्माण र सामाजिक सुरक्षाका विषयमा सबै राजनीतिक पार्टी एक हुनुपर्ने बताए।
नागरिक न्युजबाट साभारछ ।























प्रतिक्रिया दिनुहोस्