लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज दिउँसो ४ बजे सकिँदैछ। प्रदेश प्रमुख अमिक शेरचनले मङ्गलबार साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका थिए।

प्रदेश प्रमुखको आह्वान गरेसँगै नयाँ सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धन दल आन्तरिक छलफलमा जुटेका छन्। मंगलबार र बुधबार गठबन्धन छलफलमा जुटेपनि सहमति हुन सकेन।

विपक्षी दलले एक महिनाअघि नै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेस गरेका छन्। तर दोस्रो कार्यकालको लागि माओवादी विश्वस्त हुन नसक्दा बुधबार सहमति जुट्न नसकेको हो।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले बिहीबार अपराह्न ४ बजेसम्मका लागि दिएको समयावधिमै सरकारको दाबी पेस गर्नेगरी गठबन्धन दलबीच तयारी गरिएको प्रदेशसभामा कांग्रेस प्रमुख सचेतक जन्मदेव तिमल्सेनाले बताए।

गठबन्धन दलबीच सत्ताको भागबण्डाका विषयमा विभिन्न चरणमा छलफल भए पनि अहिलेसम्म टुङ्गो लागिनसकेको तर सरकारको दाबी पेस गरिसकेपछि छलफल गरेर टुङ्गोमा पुगिने सङ्केत प्रमुख सचेतक तिमिल्सेनाले दिए।

नेकपा (एमाले) संसदीय दलका नेता मुख्यमन्त्री लीला गिरीले सोमबार विश्वासको मतका लागि प्रदेशसभामा गरेको प्रस्तावमा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको थियो। संविधानको धारा १८६ को उपधारा २ बमोजिम गत पुस २७ गते नेता गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

नागरिक न्युजबाट साभार गरिएको छ ।