टीकापुर घटनामा तीनै तहकाे अदालतबाट दोषी ठहर भई जन्मकैद भोगिरहेका रेशम चौधरीको सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आजको लागि पेसी तोकिएको छ।

उनको मुद्दा न्याायधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलासमा परेको छ। तर आज सुनुवाई हुने सम्भावना भने न्यून छ। उनको मुद्दा अन्तिममा रहेकोले सुनुवाइ आज हुन सक्ने सम्भावना कम रहेको छ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा चौधरीको सजाय मिनाहा गर्ने निर्णयविरुद्ध टीकापुर घटनाबाट पीडित शारदा कडायत बोहोराले मंगलबार सर्वोच्चमा रिट दर्ता गरेकी थिइन्। कडायत टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन्।

सरकारले सजाय मिनाहा नगरेको भए अदालतको फैसलाअनुसार चौधरी २०९४ साल फागुन १३ गतेसम्म जेलमा बस्नुपर्ने थियो। तर सरकारले ‘राजनीतिक सौदाबाजी’मा चौधरीको बाँकी सजाय मिनाहा निर्णय गरेको हो।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ८ जना सुरक्षाकर्मीको ज्यान गएको थियो। सोही अपराधमा चौधरीलाई अदालतबाट जेल सजाय सुनाइएको थियो।

टीकापुर घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरू बलराम विष्ट र केशव बोहरा, हबल्दार श्यामबहादुर खड्का, पहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार ललित साउद, सहायक हबल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।

नागरिक न्युजबाट साभार गरिएको हो ।