कुशल मल्ल र सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शन बावजुद बिर्सनलायक ब्याटिङ गरेपछि नेपालले बिहीबार विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स(युएई) सँग ६८ रनको हार बेहोरेको छ।पछिल्लो पाँच खेलमा ब्याटिङ सुधारेको नेपालले बिहीबार बिर्सनलायक ब्याटिङ गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २ सय ८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङ सामना गरेपछि ३१.५ ओभरमा १ सय ३९ रनमै समेटियो।कुशल र सन्दीप दुवैले बलिङ र ब्याटिङ योगदान दिए।तर पनि नेपालले विश्वकप लिग–२ को ३० खेलमा १५औं हार सामना गर्नुपर्यो।यो हारसँगै लिग–२ को शीर्ष तीन स्थानमा रहँदै सीधै विश्वकप छनोट खेल्ने नेपालको लक्ष्यमा धक्का लागेको छ।सीधै विश्वकप छनोटमा स्थान बनाउन नेपालले अब बाँकी ६ खेल नै जित्नुपर्नेछ।

एकदिवसीय मान्यता जोगाउन भने चार खेलको नतिजा आफ्नो पक्षमा पार्नुको विकल्प नेपालसँग छैन।मध्यक्रमका ब्याटर कुशलले ६० रनको अर्धसतकीय इनिङ खेले पनि धराशयी बनेको नेपालको ब्याटिङलाई पार लगाउन सकेनन्।सबैभन्दा पुछारमा ब्याटिङ गर्न आएका सन्दीप २६ रनमा नटआउट रहे।यो नै नेपालका लागि दोस्रो सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।दोस्रो ओभरमा नेपालले पहिलो विकेट गुमाउँदा युएईका सबिर अलीले ओपनर कुशल भुर्तेललाई ५ रनमा पवेलियन फर्काए।त्यसपछि नेपाल समालिनै सकेन।थप पाँच रन जोड्दा ज्ञानेन्द्र मल्ल र कप्तान रोहित पौडेल शून्यमा नै आउट भए।

दुवै जुनैद सिद्दिकीको सिकार हुन पुगे।तेस्रो ओभर पूरा नहुँदै नेपाल १७÷३ को नाजुक अवस्था पुग्यो।चौथो विकेटका लागि कुशल र ओपनर आसिफ शेखले ३७ रनको साझेदारी गरे।नवौं ओभरमा आसिफ पनि १७ रनमा आउट भए।त्यसपछि आएका आसिफका दाइ आरिफ पनि शून्यमै पवेलियन फर्किंदा नेपालको पाँचौं विकेट पतन भयो।कुशलले एक छेउबाट इनिङ समाल्दै नेपाललाई सय रनको आँकडानजिक पु¥याए।तर, उनी पनि १९औं ओभरको पहिलो बलमै आउट भए।कार्तिक मयप्पनले उनलाई आउट गर्दै नेपाललाई ठूलो झड्का दिए।

५३ बल खेलेका कुशलले ९ चौका र एक छक्का हिर्काए।त्यसपछि खातामा थप १४ रन जोड्दा नेपालले लगातार तीन विकेट गुमायो।यस क्रममा दीपेन्द्रसिंह ऐरी ७ रन, सोमपाल कामी ४ रन र गुल्सन झा ४ रनमा आउट भए।२४.५ ओभरमा १०७÷९ को अवस्था पुगेसँगै नेपाल हारको सँघारमा पुग्यो।तर, सन्दीपले दशौं विकेटका लागि करण केसीसँग ३२ रनको साझेदारी गरे।करण ७ रनमा आउट हुँदा नटआउट रहेका सन्दीपले २४ बलमा चार चौका हिर्काए।युएईको बलिङमा रोहन मुस्तफाले तीन विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे।उनी म्यान अफ दी म्याच पनि भए।

मयप्पनले पनि तीन विकेट लिँदा जुनैदले दुई तथा जाहुर खान र सबिरको नाममा १÷१ विकेट रह्यो।त्यसअघि टस हारेर ब्याटिङ गरेको युएईले निकै खराब सुरुआत गरे पनि आसिफ खान र रोहनको अर्धशतकमा ५० ओभर नै खेल्दा २ सय ७ रन जोड्यो।युएईले खाता नखोल्दै मुहम्मद वासिमलाई शून्यमा नै गुमायो।यद्यपि, त्यसपछि घरेलु टोलीले समालिएर खेल्यो।आसिफ ७२ रनमा आउट हुँदा रोहन दुई चौकासहित ५२ रनमा नटआउट रहे।सन्दीपद्वारा आउट हुनुअघि आसिफले ९ चौका र तीन छक्का हिर्काए।

कप्तान सिपी रिजवानले २२ रन र आर्यन लाक्राले २८ रन जोडे।नेपालका बलरले कसिलो बलिङ गर्दै युएईलाई मध्यम योगफलमा रोके पनि ब्याटिङमा साथ पाउन सकेन।सन्दीपले किफायती बलिङ गर्दै १० ओभरमा तीन विकेट लिँदा २७ रन मात्र खर्चिए।करण, आरिफ र कुशल मल्लको नाममा १÷१ रह्यो।सात टोली सम्मिलित लिग–२ मा ३६ खेल पूरा गरेका स्कटल्यान्ड ५० अंक, ओमान ४४ अंक, नामिबिया ३९ अंक र अमेरिका ३५ अंकसहित शीर्ष चार स्थानमा छन्।समान ३० खेलबाट युएईको ३१ अंक र नेपालको २८ अंक छ।अब नामिबियासहित युएई र नेपालको तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा स्थान बनाउने सम्भावना बाँकी छ।यद्यपि, नेपालको भने एक हारले यो सम्भावना सकिनेछ।

नागरिक न्युजबाट साभार छ ।