हेटौंडा । धनुषा जिल्लामा पछिल्लो समय युवाहरूबीच ‘जेनजी आन्दोलनका नाममा ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्ति बढ्दै गएपछि प्रहरीले निगरानी कडा बनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा जारी गरेको सूचनामा हेलमेट नलगाई मोटरसाइकल चलाउने, सवारीमा ठूलो आवाजमा साउन्ड सिस्टम बजाउने, मादक पदार्थ सेवन गर्ने र तीव्र गतिमा सवारी हाँक्ने जस्ता कार्यहरू सार्वजनिक सुरक्षाविरुद्धको अपराध भएको उल्लेख गरिएको छ।

प्रहरीका अनुसार यस्ता गतिविधिले सडक दुर्घटनाको जोखिम बढाएको छ। “अब यस्ता गैरकानूनी कार्यमा संलग्न जोकोही कानूनी कारबाहीबाट अछूता रहने छैन,” सूचनामा भनिएको छ। सार्वजनिक सुरक्षाको दृष्टिले प्रहरी टोलीहरूलाई विभिन्न स्थानमा परिचालन गरिएको र ट्राफिक निगरानीलाई थप सशक्त बनाइएको जनाइएको छ । प्रहरीले सवारी चालकहरूलाई ट्राफिक नियमको पालना गर्न, जिम्मेवार नागरिकका रूपमा व्यवहार गर्न र सुरक्षित सडक वातावरण निर्माणमा सहकार्य गर्न पनि अनुरोध गरेको छ।

रातो समाचार संवाददाता
थप जानकारी