फाइल तस्बिर

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका-३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु ४० प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्यु भएको हो।

मृत्यु हुनेमा लमही नगरपालिका-१ का लहानु चौधरी र राप्ती गाउँपालिका-६ का सुलेश चौधरी रहेका छन्। दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले बताए।

सशस्त्रद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डिउटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेका उनले जनाए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

नागरिक न्युजबाट साभारछ ।